अक्सिजन लेभलमा कमी आएपछि सत्यमोहन जोशीलाई फेरि सारियो आइसियूमा
अक्सिजन लेभलमा कमी आएपछि सत्यमोहन जोशीलाई फेरि सारियो आइसियूमा

स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिन सारिएको थियो ।

    • बेल संचार

    • २७ आश्विन २०७९, बिहीबार

काठमाडौं

शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा फेरि गडबड देखिएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर थप उपचार थालिएको छ ।

स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिन सारिएको थियो । आज फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो । अहिले जोशीलाई प्रतिमिनेट ३० लिटर हाइफ्लो अक्सिजन दिनुपरेको छ ।

डेंगु संक्रमण भएपछि किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका शताब्दी पुरूष जोशीको यसपटकको अस्पताल बसाइ तीन हप्ता पुगिसकेको छ ।

जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको जनाएको छ ।

डा. बज्राचार्यका अनुसार निमोनिया संक्रमणको साथै मुटुको चाल सम्बन्धी समस्याको उपचार जारी छ । खकार परीक्षण गर्दा एन्टिबोयोटिक्स निरन्तर दिनुपरेको चिकित्सकले जानकारी दिएका छन् । अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् ।

किष्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित