अन्तर्राष्ट्रिय युवा इम्युनोलोजिस्ट अवार्डबाट डा. धर्मागत भट्टराई पुरस्कृत भएका छन्।
विश्वभरका इम्युनोलोजिस्टको आधिकारिक संस्था युरोपियन सोसाइटी फर इम्युनोडिफीसियन्सिज (इसिड) ले नेपालका डा भट्टराईसहित विश्वका उत्कृष्ट ३ युवा इम्युनोलोजी विज्ञलाई यस वर्षको ‘इसिड ट्यालेन्ट अवार्ड २०२२’ बाट सम्मान गरिएको हो।
स्वीडेनको गोतनबर्गमा इसिडको वार्षिक बृहत् विज्ञ सम्मेलनमा बुधबार उनलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो।
इम्युनोलोजी विषयमा युवा विज्ञले गरेका उपलब्धि र योगदानको कदर गर्दै गएको अगस्टमा पुरस्कारको घोषणा गरिएको थियो ।
योग्यता, विधागत काम, क्षमता, कामको विश्वव्यापी र नविन प्रभाव, योगदान एवं शोध र अनुसन्धान जस्ता शीर्षकमा संसारभरका प्रतिरक्षा विषयका योग्यताप्राप्त वैज्ञानिक, चिकित्सक र शोधकर्ताको मूल्यांकन गरी यो पुरस्कार दिइन्छ। सोही मूल्यांकनका आधारमा भट्टराई यस वर्ष छानिएका हुन्। यो सम्मान पाउने डा. भट्टराई दक्षिण एसियाकै पहिलो युवा इम्युनोलोजिस्ट हुन्।
डा धर्मागतले यो सम्मानबाट आफू उत्साहित भएको बताउँदै क्लिनिकल निदान वैज्ञानिक अनुसन्धान, जनचेतना कार्य, योग्यता एवं इम्युनोलोजी विधामा आफूले पुर्याएको योगदानको कदर भएकोमा खुसी लागेक बताए। उनले यो सम्मानबाट आफूलाई थप उर्जा मिलेको बताए।
उनी नेपालको पहिलो पेडियाट्रिक इम्युनोलिजिस्ट तथा ऱ्युमाटोलोजिस्ट हुन्।
डा. भट्टराई इम्युनोलोजी विषयमा डीएम गर्ने एकमात्र नेपाली चिकित्सक हुन्। उनले उच्च इम्युनोलोजी, बोन म्यारो प्रत्यारोपण एवं सेल थेरापीमा समेत भर्खरै अमेरिकाको प्रतिष्ठित ‘चिल्ड्रेन हस्पिटल अफ फिलाडेल्फियाबाट विद्यावारिधि पछिको फेलोशिप पूरा गरेका छन्।
पछिल्लो डेढ वर्षमा उनको एकल प्रयासमा इम्युन कमी या गडबडी (असन्तुलन) का ८०० भन्दा बढी बिरामी पत्ता लगाइसकेका छन्।
उनीसँगै यो अवार्डबाट सम्मानित हुने अरू २ जना स्पेन र बेल्जियममा कार्यरत युवा वैज्ञानिक छन्। सिनियर वैज्ञानिकलाई दिइने अचिभमेन्ट अवार्ड यस वर्ष इटालीकी इम्युनोलोजिष्ट डा.इसाबेला क्विनटिले पाएकी छन्।