सत्ता गठबन्धनमा आबद्ध विद्यार्थी संगठनले निर्वाचन क्षेत्रको प्रत्येक बुथमा दुई सय युवा विद्यार्थी परिचालन गर्ने निर्णय गरेका छन्।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी,अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ,अखिल छैठौं र समाजवादी विद्यार्थी युनियनको बैठकले पाँच वटै संगठनका अध्यक्ष संलग्न केन्द्रीय परिचालन समिति बनाउने निर्णय समेत गरेको छ।
‘संविधान कुल्चने, पटक/पटक संसद विघटन गर्ने र संघर्षबाट स्थापित उपलब्धीमाथि खेलबाड गरी मुलुकलाई पछि फर्काउन चाहने,स्वेच्छाचारी र प्रतिगामी शक्तिलाई मुलुकभरका निर्वाचन क्षेत्रबाट बिदा गर्ने योजना निर्माण गर्ने रणनीति अनुरूप गठबन्धनमा सहभागी दलनिकट विद्यार्थी संगठनका नेता/कार्यकर्ताको व्यवस्थित र प्रभावकारी परिचालन गर्ने’ विद्यार्थी संगठनहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बैठकले मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा संघ र प्रदेश स्तरीय संयुक्त चुनाव परिचालन समिति निर्माण गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बताए
‘गठबन्धन आबद्ध विद्यार्थी संगठनका अध्यक्षहरूले अडिओ, भिडिओमार्फत् गठबन्धनका उम्मेदवारहरू विजय गराउन सार्वजनिक अपिल गर्ने,’ विद्यार्थी संगठनहरूले निकालेको विज्ञप्तिमा भनिएको छ,’चुनावी प्रतिस्पर्धामा रहेका दलको शीर्ष नेतृत्व तथा संयुक्त विद्यार्थी संगठनका पूर्व विद्यार्थी अध्यक्षका चुनावी क्षेत्रमा संगठनका अध्यक्षहरू उपस्थिति भएर निर्वाचन विशेष कार्यक्रम र संयुक्त सम्बोधन अपिल गर्ने।’