काठमाडौं
निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
विभिन्न सञ्चारमाध्यमहरुमा मन्त्री चौधरीले निर्वाचनको मुखमा १३ लाख बराबरको खाद्यान्न बाँडेको समाचार आएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
मन्त्री चौधरीकै सचिवालयले समेत ३ लाख बराबरको खाद्यान्न बाँडेको जानकारी दिएको थियो ।
आयोगले सोधेको स्पष्टीकरणपत्रमा भनिएको छ–‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ?’
आयोगले सोधेका प्रश्नहरु यस्ता छन्ः
(क) निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ?
(ख) निर्वाचन आचारसंहिता, २०७९ को दफा छ को व्यवस्था बमोजिम ‘आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था रहेको हुँदा तपाईंले सो व्यवस्था बमोजिम आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्य गर्दा निर्वाचन आयोगको कुनै पूर्व सहमति प्राप्त गर्नुभएको छ, छैन ? आयोगको सहमति बेगर चामल वितरण कार्यक्रम गर्नुभएको भए तपाईंको उपस्थितिमा गरेको उक्त कार्यक्रम नेपाल सरकारको वार्षिक कार्यक्रम भित्र कुन बुँदामा समावेश भएको छ ? विपद्का अवस्थामा तत्काल राहत वितरण गर्नै पर्ने अनिवार्यता परेमा नेपाल सरकारको जिल्लामा कायम संरचना जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण गर्न सक्ने विकल्प हुँदाहुँदै त्यसो नगरी मन्त्रीकै उपस्थितिमा किन राहत वितरणको नाममा उक्त कार्य गर्नु परेको हो ? विपदका अवस्थामा राहत वितरण सम्बन्धी कार्य गर्दा नेपाल सरकारको मन्त्री नै जानुपर्ने कुनै कानूनी बाध्यता थियो, थिएन ?
(ग) तपाईंबाट निर्वाचन आचारसहिताको उल्ङघन भएको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन जरिबाना गर्नु नपर्ने हो ?
मन्त्री चौधरीले सो व्यवस्था बमोजिम आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्य गर्दा निर्वाचन आयोगको कुनै पूर्व सहमति लिएका थिएनन् ।