दाङ
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा फेला परेको दुई किशोर किशोरीको शव तीन दिनपछि आफन्तले बुझेका छन् ।
असाेज ३० गते जंगलमा हत्या गरी खाल्डोमा पुरिएको अवस्थामा फेला परेको दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र साेही ठाउँमा बस्दै आएका दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव मंगलबार दिउँसो आफन्तले बुझेका हुन् ।
यसअघि दोषीलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका थिएनन् भने पोष्टमार्टम गर्न समेत नदिने अडान लिएका थिए ।
स्थानीय प्रशासनसँग सहमतिपछि मंगलबार दिउँसो शव बुझेको रोशनीका काका टेकसिंह महतराले बताए ।
मृतक दुबै जनाको पोष्टमार्टम राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।
पोष्टमार्टमपछि आफन्तलाई शव जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकरी दिए । उनीहरुको शव शीतलपुरमा बबई नदी किनारमा अन्त्येष्टि हुँदैछ ।