रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएको छ।
चौधरी र थारूको उम्मेदवारी खारेज हुन सक्ने सम्भावनालाई हेरेर पार्टीले अगाडि नै स्वतन्त्र उम्मेदवारी दिएको थियो।
सोहीअनुसार स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले जानकारी दिए।
रेशम बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए। उनको उम्मेदवारी खारेज भएपछि यहाँ नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारी दिएका रेशमका बुवालाई नै समर्थन गरेको छ।
पार्टीले मनोनयन दर्ताका क्रममा रेशमलाई पार्टीबाट र उनका बुवा लालवीरलाई स्वतन्त्रबाट उम्मेदवार खडा गरेको थियो।
निर्वाचन अधिकृत कार्यालयले रेशमको उम्मेदवारी खारेज गरिदिएको थियो। अहिले उनका वुबा लालवीर बर्दीया क्षेत्र नम्बर २ का लागि चुनावी प्रचार प्रसारमा व्यस्त छन्।
यस्तै कैलाली क्षेत्र नम्वर ५ मा कृष्ण थारुको उम्मेदवारी खारेज भएपछि सो ठाउँमा स्वतन्त्रबाट पार्टीले जगदीश चौधरीलाई उम्मेदवार बनाएको छ।
नागरिक उन्मुक्ति पार्टीले तयार पारेका स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह नल्का पाएका छन्।
‘हामीले उम्मेदवारी खारेज हुन सक्छ भन्ने सम्भावनालाई हेरेर यी ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएका थियौं। स्वतन्त्र उम्मेदवारलाई पार्टीले आधारिक रुपमा समर्थन गर्ने भनेर घोषणा गरिसकेको छ,’ लक्ष्मण थारुले भने।
२०७४ को चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा जनता समाजवादी पार्टीबाट रेशम चौधरी उम्मेदवार थिए।
उनका बुवा लालवीर भने नेकपा एमालेबाट प्रदेश सभामा उम्मेदवार भएका थिए। त्यसबेला प्रतिनिधि सभामा रेशमले जितेका थिए भने प्रदेश सभामा उठेका लालवीर पराजित भएका थिए। लालवीर जसापका कृष्ण चौधरीसँग पराजित भएका थिए।
हाल कैलाली १ बाट प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेकी रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठ चौधरी उम्मेदवार छिन्।
आगामी मंसिर ४ मा हुने निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले ४२ जिल्लामा प्रत्यक्ष र समानुपातिकबाट उम्मेदवार बनाएको छ।
प्रतिनिधितर्फ २५ सिट र प्रदेशमा ५० वटा सिट जित्ने लक्ष्य रहेको पार्टीका नेता लक्ष्मण थारुले दाबी गरेका छन्।
गत वैशाखमा भएको स्थानीय तहको चुनावमा उन्मुक्ति पार्टीले ४ स्थानीय तह प्रमुखसहित ९९ प्रतिनिधि जितेको थियो।
टीकापुर हत्याकाण्डमा सजाय भोगीरहेका रेशम चौधरीले गत पुस १९ गते निर्वाचन आयोगमा श्रीमती रञ्जिताको नाममा पार्टी दर्ता गराएका थिए।
७ वर्ष अघिको टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेर दोषी ठहर भएका रेशम जेलमा छन्।
सोही मुद्दामा लक्ष्मण थारु फरार सूचीमा रहेका छन्। २०७२ भदौ ७ गते ‘शान्तिपूर्ण’ प्रदर्शन हिंसामा परिणत हुँदा ९ जनाको मृत्यु भएको थियो।
नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको घटनामा चौधरी मुख्य योजनाकार भएको आरोप लागेको थियो।
अदालतले चौधरीलाई हत्या अभियोगमा जेल सजाय सुनाएको छ। उच्च अदालतबाट पनि दोषी ठहर भएपछि उनले सर्वोच्च अदालतमा निवेदन दिएका छन्। सर्वोच्चबाट यो मुद्दा फैसला भइसकेको छैन।
यो घटना राजनीतिक विषय भएकाले मुद्दा फिर्ता लिनुपर्ने र चौधरीलगायत दोषी ठहर गरेका व्यक्तिलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पाटीले माग गर्दै आएको छ।