गोरखाका ४३ कोणसभामा अध्यक्ष पुष्पकमल दाहाल ,प्रचण्डले भनेका पाँच कुरा (तस्बिरहरू)
गोरखाका ४३ कोणसभामा अध्यक्ष पुष्पकमल दाहाल ,प्रचण्डले भनेका पाँच कुरा (तस्बिरहरू)

फाेटाे फिचर

    • Bell Sanchar

    • १४ कार्तिक २०७९, सोमबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपालि गोरखाबाट संसदीय चुनाव लड्दै छन्। असोज २३ मा गोरखा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गरेदेखि उनले गोरखा आउजाउ र नेता तथा कार्यकर्ता र जनतासँगको भेटघाटलाई बाक्लो बनाएका छन्।

गत शुक्रबार धादिङ हुँदै गोरखा गएका उनी आइतबार काठमाडौं फर्किएका छन्।

दुई दिनमा उनले गोरखा क्षेत्र नम्बर १ र २ मा गरी ४३ वटा कोण सभामा बोल्न भ्याए। प्रचण्डका कुरा सुन्न र उनलाई फूलमाला र खादाले स्वागत गर्न माओवादीका मात्र होइन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू लाइन लागेका थिए।

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, माओवादी नेता हितराज पाण्डे, सत्ता गठबन्धनबाट गोरखा-१ का उम्मेदवार तथा कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईंलाई साथै लिएर प्रचण्डले अधिकांश सभामा बोलेका थिए।

शुक्रबार अपरान्ह प्रचण्ड धादिङको सल्यानटारमा आयोजित कार्यक्रममा सहभागी भएर साँझपख गोरखाको आरूघाट पुगेका थिए। त्यहाँ प्रचण्डलाई स्वागत गर्न धेरै मानिसहरू फूलमालासहित उभिएका थिए। आरूघाटसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको प्रचण्ड बताउँछन्। यहाँको भीमोदय माविमा उनले २०३३ सालमा पढाएका थिए। त्यस दिन आरुघाटको कोणसभालाई सम्बोधन गर्दै प्रचण्डले आफू शिक्षक हुँदा र आरूघाट बस्दाका दिन स्मरण गरेका थिए।

उनले गोरखा-१ मा सत्ता गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईंको भूमिकाको पनि प्रशंसा गरेका थिए। आफू चुनाव लड्न गोरखा आउनुमा बजगाईंको पनि भूमिका रहेको प्रचण्डको भनाइ थियो। त्यस रात उनी आरूघाटमै बसेका थिए।

भोलिपल्ट (शनिबार) बिहानै प्रचण्ड पुगे आरूघाटमाथि रहेको गाउँ आरूटार। जहाँ उनी शिक्षक हुँदा डेरामा बस्ने गर्दथे। उनले आफ्ना घरबेटीलाई पनि भेटेका थिए।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार आरूटार पुगेपछि प्रचण्डले आफूलाई ४४ वर्षअघि आरूटार, आरूघाट बसेका दिनहरू स्मरण भइरहेको सुनाएका थिए। प्रचण्ड त्यसबेला आफू बसेका घर खोज्दै गए, नुहाएका धारा खोज्दै हेर्न गएका थिए भने खाना खाने घरसम्म पनि पुगेका थिए। उनले आरूटारका घरबेटीदेखि स्थानीय बासिन्दासँग पनि कुराकानी गरेका थिए।

यसपछि प्रचण्डले पूर्वनिर्धारित कार्यक्रमअनुसार चुनावी कोणसभामा सहभागी हुन थाले। आरूटारबाट घ्याम्पेशाल, गैरीछाप, धारापानी, देउराली बजार, पन्द्रुङ, दिलबहादुर रम्तेल स्मृति पार्क, बाकोटडाँडा, स्वाँरा, खार्चोकभन्ज्याङ, रन्चोक, सौरपानी, ढोडेनी, सिमजुङ हुँदै प्रचण्ड शनिबार बेलुकी भच्चेक पुगेर बास बसेका थिए।

आइतबार नम्की, सिरानडाँडा, धारापानी, थालाजुङ, चित्रेपोखरी, मैदान, खेपुवा, चोरकाटे हुँदै प्रचण्डसहितको टोली पालुङटार नगरपालिकाका गाउँहरू प्रवेश गरेका थिए। पालुङटारका अधिकांश गाउँहरूमा पुगेर कोणसभा सहभागी प्रचण्ड आइतबार अबेर राति काठमाडौं फर्किएका छन्। प्रचण्डका भाषण सुन्न आइतबार बेलुकीसम्म पनि पालुङटारको धुवाँकोट, च्याङ्ली र पौवाटारमा धेरै मानिसहरू कुरिरहेका थिए।

प्रचण्डले अधिकांश सभामा बोल्दा आफू चितवन छाडेर गोरखामा चुनाव लड्न आउँदा आनन्द अनुभूत भइरहेको बताएका थिए।

‘यो चुनावमा म इन्जोय गरिरहेको छु’

प्रचण्डले यसपालिको चुनावलाई आफूले इन्जोय गरिरहेको बताएका छन्। भच्चेकमा उनले भने, ‘म चुनाव लड्न गोरखा आउँदा खुसी छु। चुनावी तयारीमा भेटघाट गर्दै हिँड्दा म यो पटक किनकिन चुनावमा मैले इन्जोय गरिराखेको छु। आनन्द लिइराख्याजस्तो लाग्छ। म तनावमा छैन। हाम्रो आफ्नै पार्टी र गठबन्धन भित्रको एकता हेर्दा यसपालिको चुनावमा मलाई तनाव छैन।’

‘प्रधानमन्त्री र मुख्यमन्त्री पाउने गोरखा २ भाग्यमानी’

प्रचण्डले गोरखा २ का अधिकांश चुनावी सभामा भावी प्रधानमन्त्री र मुख्यमन्त्रीका कुरा पनि निकालेका थिए। उनले आफू भावी प्रधानमन्त्री र कांग्रेसका सुरेन्द्र पाण्डे गण्डकी प्रदेशको भावी मुख्यमन्त्री भएको पनि बताउन भ्याएका थिए।

‘त्यस्तै तालमेल मिल्यो भने म पनि देशको नेतृत्व गर्ने अवसर पाउने सम्भावना पनि छ। त्यसो भयो भने गोरखा क्षेत्र नम्बर २ बडो भाग्यमानी क्षेत्र हुने भयो,’ प्रचण्डले पालुङटारको एक सभामा भने, ‘प्रधानमन्त्री पनि पाउने मुख्यमन्त्री पनि पाउने भयो भने गोरखाका यी बाटाघाटाका धुलो छन् नि एउटा पनि रहन दिन्नौं।’

प्रचण्डलाई भावी प्रधानमन्त्री र सुरेन्द्रलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गर्दै बाबुराम भट्टराई पनि जनतासँग मत मागेका थिए। गोरखा २ ले प्रधानमन्त्री र मुख्यमन्त्री पाएमा सिंगो गोरखाकै विकास हुने भट्टराईको भनाइ थियो। भट्टराईले मुख खोलिदिएपछि आफू प्रधानमन्त्री पनि हुने हो भन्न प्रचण्डलाई झन् सहज भएको थियो।

‘सुशासन र आर्थिक समृद्धिका लागि गोरखा आएँ’

प्रचण्डले उम्मेदवारी दर्ताअघिसम्म चितवन ३ नछाड्ने बताइरहेका थिए। तर उनी गोरखाबाट उम्मेदवारी दर्ता गरेपछि भने सुशासन तथा आर्थिक समृद्धिका एजेन्डासहित गोरखा आएको बताउन थालेका छन्।

प्रचण्डले गोरखाबाट उम्मेदवारी दिएपछि ‘हार्ने डरले चितवन छाडेको’ भन्दै आलोचना हुने गरेको छ। तर प्रचण्डले भने आफूले कहिल्यै पनि एकै क्षेत्रमा दोहोर्‍याएर चुनाव नलडेको बताउँदै आएका छन्।

‘गोरखाबाट नयाँ रेकर्ड राख्छु’

प्रचण्डले गोरखाबाट नयाँ रेकर्ड राख्ने बताएका छन्। गोरखा २ मा मंसिर ४ मा हुने चुनावमा सबैभन्दा धेरै मतान्तरले चुनाव जितेर रेकर्ड राख्ने तयारीमा उनी लागेका छन्।

गोरखामा नेकपा एमालेबाट अब्दुस मियाँ उम्मेदवार छन्। उनी उम्मेदवारी दर्ता गर्नुअघि मात्रै एमाले प्रवेश गरेका थिए। त्यसअघि उनी काठमाडौं ६ मा स्वतन्त्र उम्मेदवार हुने घोषणा गर्दै चुनावी अभियानमा होमिएका थिए। गोरखामा स्थानीय चुनावको मत हेर्दा माओवादी र कांग्रेसभन्दा एमाले धेरै तल छ। विगतका चुनावमा आएका मतपरिणामले अर्को उम्मेदवारसँग आफ्नो प्रतिस्पर्धा नै नहुनेमा सत्ता गठबन्धनका उम्मेदवार छन्। तर उमाले उम्मेदवार अब्दुस मियाँले पनि युवाहरूलाई चुनाव जिताउनुपर्ने बताउँदै आएका छन्।

गत वैशाखमा भएको स्थानीय चुनावमा गोरखा २ मा माओवादीका वडाध्यक्ष उम्मेदवारहरूले २२ हजार दुई सय ५० मत ल्याएका थिए।

यहाँ कांग्रेस उम्मेदवारले २१ हजार एक सय ३६ मत ल्याएका थिए।

एमालेको ७ हजार ९ सय २६ र जसपाको ७ हजार ५ सय ४ मत आएको थियो। यहाँ जति मत जसपालाई आएको छ, त्यो बाबुरामनिकटको मत हो। बाबुराम अहिले जसपामा छैनन्, नेपाल समाजवादी पार्टीका अध्यक्ष छन्। बाबुरामको पार्टीले माओवादीको चुनाव चिन्ह लिएर गोरखासहित केही क्षेत्रमा उम्मेदवारी दिएको छ।

‘बाटो धुलो रहँन दिन्नौं, विमानस्थल बन्छ’

प्रचण्डले आफू गोरखा आउनुमा विकास निर्माणको पक्ष पनि सँगै जोडिएर आउने बताउने गरेका छन्। उनले पालुङटार विमानस्थल पुन: सञ्चालन गर्नेदेखि गोरखकाली रबर उद्योग सञ्चालन गर्न पहल गर्नेसम्मका कुरा गरेका छन्। चुनाव जिताएर पठाएमा गोरखा २ ले गण्डकी प्रदेशको मुख्यमन्त्री र प्रधानमन्त्री नै पाउने भन्दै उनले यो क्षेत्रको सडक कालोपत्र गरिने पनि प्रतिवद्धता चुनावी कोणसभामा गरेका थिए।

प्रचण्डले दुई दिनमा गरेका ४३ कोण सभामा स्थानीयसँग अन्तर्क्रिया भने गरेका थिएनन्। केही ठाउँमा स्थानीयले दिएका मागपत्र बुझेका थिए भने केही ठाउँमा भाषण गर्दागर्दै स्थानीयका प्रश्नका जवाफ दिन भ्याएका थिए। प्रचण्डले अहिले आचारसंहिताका कारण ठूला कार्यक्रम गर्न नमिलेको र कात्तिक १८ पछि सभाहरू गरिने बताएका थिए।

गोरखामा स्थानीयहरूको स्वागतले हौसिएका प्रचण्डले नेपाली राजनीतिमा माओवादी निर्णायक शक्ति बन्ने आँकलनसमेत गरेका छन्। गत वैशाखमा भएको स्थानीय चुनावमा ११ स्थानीय तहमध्ये गोरखामा ९ स्थानीय तह प्रमुख माओवादीले जितेको थियो। त्यसबेला चुनावी गठबन्धन नगरेर खुम्चिएको कांग्रेसले यसपालि माओवादीसँग गठबन्धन गरेको थियो।

थप तस्बिरहरू:

फाेटाे फिचर

 

साताकाे चर्चित
सम्बन्धित