कालीकोटमा झोलुंगे पुलको बीचमा किन लगाइयो भर्‍याङ?
कालीकोटमा झोलुंगे पुलको बीचमा किन लगाइयो भर्‍याङ?

यही कात्तिक १० गतेदेखि भर्‍याङ हालेर तत्काललाई आवतजावत गर्ने वातावरण बनेको वडाध्यक्ष शाहीले बताए।

    • बेल संचार

    • १४ कार्तिक २०७९, सोमबार

कालीकोटको खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिका जोड्ने झोलुंगे पुल अहिले सामाजिक सञ्जाल फेसबुकमा छाएको छ। पुलको छेउमा काठको भर्‍याङ लगाएर पुलमा उक्लिने बनाइएपछि कर्णालीका पूर्वमुख्यमन्त्री र स्थानीय जनप्रतिनिधिको आलोचनासहित फेसबुकमा भाइरल गराइएको छ।

कालीकोटको जितेगडामा केही वर्षअघि यो झोलुंगे पुल बनेको हो। जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्बर २ र नरहरीनाथ गाउँपालिकाको वडा नम्बर १ मा यो पुलको संरचना पर्छ।

असोज १९ गतेदेखि करिब एक सातासम्म भएको निरन्तर वर्षाका कारण आएको बाढीले पुलको खाँडाचक्र नगरपालिकातर्फको भागमा क्षति पुर्‍याएको थियो। पुलमा हिँड्ने आधाजति फलेकहरू बगेपछि तत्कालका लागि आवतजावत काठको भर्‍याङ बनाएर जुगाड गरिएको हो।

खाँडाचक्र नगरपालिकाका-२ का वडाध्यक्ष कविन्द्रबहादुर शाहीका अनुसार जितेगडास्थित यातायात व्यवसायी र होटल व्यवसायीबाट पैसा संकलन गरेर त्यो भर्‍याङ बनाइएको हो।

‘जितेगडामा अस्थायी बसपार्क छ, त्यहाँको संयुक्त काउन्टर र होटल व्यवसायीबाट पैसा उठाएर तत्कालका लागि आवतजावत गर्न भर्‍याङ हालिएको रहेछ,’ उनले भने, ‘तत्काल सामग्री ल्याउन कठिन हुने भएपछि त्यो बनाइयो, यसले मानिसहरूलाई बसपार्कसम्म आउन र जान सहज भएको छ।’

यही कात्तिक १० गतेदेखि भर्‍याङ हालेर तत्काललाई आवतजावत गर्ने वातावरण बनेको वडाध्यक्ष शाहीले बताए।

कर्णाली राजमार्ग तथा जीतेगडाको अस्थायी बसपार्क पुग्न उक्त झोलुंगे पुल मुख्य विकल्प भएको उनले बताए। कर्णाली राजमार्गबाट यातायात सुविधा प्रयोग गर्ने गरी कालीकोटको नरहरीनाथ गाउँपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पलाता गाउँपालिकासहित बाजुरा र हुम्लाका मानिसहरू त्यो पुल भएर जितेगडा आउने गरेको वडाध्यक्ष शाहीले बताए।

हुम्ला, बाजुरासहित कालीकोटका अधिकांश मानिस कर्णाली नदी वारपार गर्न अहिले भर्‍याङ हालिएको जितेगडाको पुल मुख्य भएकाले तत्काललाई व्यवस्थापन गरिएको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष विनोदकुमार बिष्टले बताए।

‘दशैंका बेला आएको पानीका कारण बाढीले पुलमा क्षति पुर्‍याएपछि समस्या थियो, मैले यो कुरा विपद् व्यवस्थापन समितिमा राखेको थिएँ,’ अध्यक्ष बिष्टले भने, ‘यो पुल कालीकोटका कर्णाली वारिपारिका लागि मात्र नभएर छिमेकी जिल्लाका मानिसका लागि पनि मुख्य भएकाले हाललाई त्यो भर्‍याङ राखेर व्यवस्था गरिएको होला।’

अवरूद्ध भएको कर्णाली राजमार्ग भर्खरै मात्र सञ्चालनमा आएकाले अब सामग्री ल्याएर पुललाई मर्मत गरिने उनले बताए।

साताकाे चर्चित
सम्बन्धित