दाहालको आगमनले गोरखामा बेग्लै चहलपहल
दाहालको आगमनले गोरखामा बेग्लै चहलपहल

हुन त अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा पनि गोरखामा गठबन्धन गरेरै दलहरु प्रतिस्पर्धामा थिए ।

    • बेल संचार

    • १६ कार्तिक २०७९, बुधबार

गोरखा

विकट भूगोलदेखि समथर फाँटसम्म लमतन्न परेर फैलिएको गोरखाको राजनीति यतिखेर अरु जिल्लाको भन्दा अलि फरक ढंगले तातेको छ । गठबन्धनको गठजोरसँगै देशभर चुनावी आँकलन भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखाबाटै चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ र त यहाँको चुनावी चर्चा बढी छ ।

करिव एक लाख ५ हजार मतदाता रहेको गोरखामा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभाका लागि यही मंसिर ४ गते चुनावी प्रतिस्पर्धा हुँदैछ । स्थानीय तहको निर्वाचनमा मतसंख्याको आधारमा करिव करिव उस्तै सांगठनिक मजबूदी देखाएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले गोरखाको निर्वाचनमा नयाँ हिसाव कितावको खाका देखाएको छ । हुन त अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा पनि गोरखामा गठबन्धन गरेरै दलहरु प्रतिस्पर्धामा थिए ।

तर त्यो बेलामा नयाँ शक्ति र नेपाली कांग्रेसबीच सहकार्य भएको थियो भने अहिले नयाँ शक्तिबाट निर्वाचित डा. बाबुराम भट्टराई जसपा हुँदै नेपाल समाजवादी पार्टीमा हुनुहुन्छ र सत्तासाझेदार दलकै गठबन्धनमा जोडिनुभएको छ। यसले गर्दा गोरखाका प्रमुख राजनीतिक दलहरुबीचको सहकार्यले यहाँको प्रतिस्पर्धा कतै फितलो होला कि भन्ने आँकलन गोरखाका कतिपय मतदाताले नेपाल टेलिभिजनसँगको कुराकानीमा सुनाएका पनि छन । तर निर्वाचनमा गठबन्धन गरिरहेका दलहरुका कतिपय गुनासा र असन्तुष्टि पनि कम छैनन् । यसलाई कसरी सम्बोधन गर्ने भन्ने चिन्ता पनि दलहरुमा छँदैछ ।

पाका र राजनीतिका शीर्ष नेतृत्व प्रचण्डसँग नयाँ र युवा उमेरका मियाँको चुनावी प्रतिस्पर्धा गोरखाली मतदताकाबीच रोचक र चर्चाको विषय बनेको छ ।

गठबन्धनबाट गोरखा २ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नेकपा एमालेका अब्दुस मियाँ प्रतिस्पर्धामा हुनुहुन्छ । पाका र राजनीतिका शीर्ष नेतृत्व प्रचण्डसँग नयाँ र युवा उमेरका मियाँको चुनावी प्रतिस्पर्धा गोरखाली मतदताकाबीच रोचक र चर्चाको विषय बनेको छ । गोरखा २ ख मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई उमेदवार बनाएको छ । जहाँ एमालेका वसन्त गुरुङ मुख्य प्रतिश्पर्धी हुनुहुन्छ । अरु दल र स्वतन्त्र उमेदवारहरु पनि प्रतिस्पर्धामा छन । गोरखा २ क मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र एमालेका राजु रानाबीच नै मुख्य प्रतिस्पर्धा छ ।

गोरखा १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईंसँग नेकपा एमालेका रामशरण बस्नेत प्रतिश्पर्धामा हुनुहुन्छ । २०७४ को निर्वाचनमा गोरखा १ को प्रदेश सभा ‘ख’मा सँगै प्रतिस्पर्धा गरेका बस्नेत र बजगाई अहिले फेरि संघमा आमने सामने भएका छन् ।

गोरखा १ क मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्ण धितालसँग एमालेका सुरेन्द्र थापा प्रतिस्पर्धामा हुनुहुन्छ भने गोरखा १ ख मा गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेसँग नेकपा एमालेका मोहन भटराई प्रतिस्पर्धामा हुनुहुन्छ ।

निर्वाचनको माहौलमा भर्खर भर्खर प्रवेश गरेका गोरखाका मतदाता बिकासप्रेमी नेता छान्न तर्क वितर्क गरिररहेका छन् ।
एकातिर किसानको बाली थन्क्याउने चटारो अर्कोतिर नेताहरुको चुनावी अभियान मतदाताहरुलाई समय व्यवस्थापन गर्नै गाह्रो भएको छ । तर पनि आफ्नो प्रतिनिधि छान्ने अभियानमा सहभागी हुन आतुर छन् गोरखाका आम मतदाता ।

साताकाे चर्चित
सम्बन्धित