प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘महापुरूष’ आजबाट दोस्रो सातामा प्रदर्शन भइरहेको छ।
फिल्मले दर्शकको माया पाउनुको साथै घरेलु बक्स अफिसमा राम्राे कमाइ गरिरहेको छ। निर्देशक भट्टराईका अनुसार फिल्मले ४ करोड ५० लाख कमाएको छ।
यो फिल्मले १ करोडमा ओपनिङ गरेको थियो।
एकल बुवाको बुढ्यौलीमा बसेको प्रेमले ल्याउने उतारचढावलाई फिल्ममा देखाइएको छ। फिल्ममा हरिवंश आचार्य र गौरी मल्ललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ।
सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ मा हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अरूण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ।
यसै फिल्मबाट अरूण क्षेत्री र अन्जना बराइलीले डेब्यु गरेका छन्। अरूणले फिल्ममा हरिवंशको छोराको भूमिका निर्वाह गरेका छन् भने अन्जनाले मदनकृष्णको छोरीको भूमिका निर्वाह गरेकी छन्।
षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्। म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्।
फिल्मका निर्देशक प्रदीप भट्टराईले यसअघि ‘शत्रु गते, जात्रा र जात्रै जात्रा’ निर्देशन गरेका थिए। यी तीन वटै फिल्म व्यावसायिक रूपमा सफल साबित भइसकेका छन्।