प्रचण्ड पत्नी सीताको स्वास्थ्य जटिल,
प्रचण्ड पत्नी सीताको स्वास्थ्य जटिल,

‘अवस्था गम्भीर भएर शनिबार अस्पताल भर्ना गरिएको हो,’ अस्पताल स्रोतले भन्यो, नन् इन्भेसिभ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’

    • Bell Sanchar

    • २१ कार्तिक २०७९, सोमबार

काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ ।

स्वास्थ्य अवस्था बिगि्रएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी सीतालाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ । ‘अवस्था गम्भीर भएर शनिबार अस्पताल भर्ना गरिएको हो,’ अस्पताल स्रोतले भन्यो, नन् इन्भेसिभ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’

गत सोमबारमात्र  अस्पतालमा १६ दिन लामो उपचार गराएर सीतालाई घर लगिएको थियो । ‘पछिल्लो पटक अस्पताल भर्ना भएदेखि नै स्वास्थ्य अवस्था झन्-झन् गम्भीर बन्दै गएको छ । तर, अहिले नै आशा मारिहाल्नुपर्ने अवस्था भने छैन,’ अस्पताल स्रोतले भन्यो ।

सीताको स्वास्थ्यमा छिन-छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा उपचार गरिरहेको छ ।

सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो ।

सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् । उनको अहिले मेडिसिटीमा वरिष्ठ न्युरो रोग विशेषज्ञ डा. बाबुराम पोखरेलको नेतृत्वमा उपचार भइरहेको छ ।

पीएसपी कस्तो रोग हो ?

पीएसपी एक दुर्लभ रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ । यसले मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न कठिनाइ हुने गर्छ । यसकै कारण मस्तिष्कको कोषिकामा पनि असर पुग्ने चिकित्सक बताउँछन् । ६० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या बढी देखिने गर्छ ।

तह नामक प्रोटिनको बनावटका कारण दिमागको कुनै भागको ब्रेन खराब भएमा प्रोग्रसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) हुने गर्छ । तह मस्तिष्कमा हुन्छ र उच्च स्तरसम्म पुग्नु अगावै यो टुक्रिएर बिग्रने गर्छ ।

पीएसपीबाट ग्रसित व्यक्तिहरूमा भने यो सही तरिकाले टुक्रिंदैन । जसका कारण मस्तिष्कमा यसको झुप्पा बन्ने गर्छ । यो झुप्पा अलग-अलग आकार तथा संख्यामा हुने गर्छ । साथै, यो मस्तिष्कको विभिन्न भागमा हुनसक्छ । जसले गर्दा यसको लक्षण पनि व्यक्ति अनुसार फरक हुने गर्छ ।

शरीरको चाल ढिलो भएजस्तो हुने, सन्तुलनको अभावले लडिरहने, अल्झिएलगत्तै लडिहाल्ने जस्ता समस्या देखिन्छ ।
यो रोगको कारण एकिन हुँदैन । कतिपयलाई वंशाणुगत कारणले पीएसपी रोग देखिने चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार पीएसपी रोग देखिने मानिसमा आँखाको नानी तलमाथि गर्नसमेत समस्या हुन्छ । आँखाको चाल बिग्रिदैं गएपछि धमिलो देख्ने, दुई-दुई वटा चिज देखिने, स्पष्ट नदेखिने जस्ता लक्षण पनि देखिन्छन् ।

साताकाे चर्चित
सम्बन्धित