काठमाडौँ, २२ कात्तिक ।
नेकपा एमालेबाट काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधीसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले काठमाडौँ क्षेत्र नं ६ लाई धुलो र हिलोमुक्त बनाउने प्रतिवद्धता गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ६ लाई नमूना क्षेत्र बनाउने उद्घोषका साथ निर्वाचनमा होमिनुभएका पूर्व प्रहरी प्रमुख खनालले सो क्षेत्रभित्र रहेका मुख्य र शाखा सडकलाई कालोपत्रे गरी धुलो र हिलोमुक्त बनाउने बताउनुभएको हो ।
उहाँले काठमाडौँ क्षेत्र नं ६ भित्रका सबै सडकलाई स्तरोन्नती, मर्मत र सौन्दर्यकरण र पैदलयात्री मैत्री बनाउन सबै निकायका प्रतिनिधी सम्मिलित क्षेत्रीय समन्वय समिति निर्माण गरी एकीकृत रुपमा काम अगाडि बढाउने प्रतिवद्धता गर्नुभएको छ ।
निर्माणाधीन पार्कलाई पुरा गर्ने, बढ्दो शहरीकरणबीच खुला सार्वजनिक पार्क अति आवश्यक पर्ने हुँदा सम्भाव्यता अध्ययन गरी पार्क विस्तार गरिने उहाँको योजना रहेको छ । काठमाडौँ क्षेत्र नं ६ मा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९, १० र ११ साथै तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् । काठमाडौँको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार १०२ मतदाता छन् ।