‘आदिपुरुष’ को पुन: भिएफएक्स गर्न सय करोड खर्च, बन्यो भारतकै महंगो फिल्म
‘आदिपुरुष’ को पुन: भिएफएक्स गर्न सय करोड खर्च, बन्यो भारतकै महंगो फिल्म

त्यस्तै रावण बनेका सैफ अली खानको हुलियालाई लिएर पनि धेरै नकारात्मक टिप्पणी आएका थिए।

    • Bell Sanchar

    • २३ कार्तिक २०७९, बुधबार

भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘आदिपुरुष’ बन्ने घोषणा भएसँगै चर्चामा थियो।

यो फिल्म कहिले प्रदर्शन हुन्छ भनेर दर्शकहरू प्रतीक्षामा थिए तर फिल्मको टिजर सार्वजनिक भएपछि प्रशंसाभन्दा आलोचना खेप्नुपर्‍याे।

फिल्ममा प्रयोग भएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसनदेखि भिडिओ गेमसम्म भने।

भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी भएको थियो। सस्तो भिएफएक्समा फिल्म बनाएको भन्दै आदिपुरुषका निर्माण टोलीको आलोचना समेत भएको थियो।

त्यस्तै रावण बनेका सैफ अली खानको हुलियालाई लिएर पनि धेरै नकारात्मक टिप्पणी आएका थिए।

नकारात्मक टिप्पणीपछि निर्माण टिमले फिल्म प्रदर्शन हुनुअघि पुन: भिएफएक्स गर्ने भएका छन्। भिएफएक्सले गर्दा फिल्मको बजेट पनि बढ्ने भएको छ।

पहिला ‘आदिपुरुष’ करिब ५ सय करोड भारू बनेको बताइएको थियो। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार अब फिल्मको बजेट करिब ६ सय करोड भारु पुगेको छ। योसँगै ‘आदिपुरुष’ भारतकै महंगो फिल्म सावित भएको छ।

अक्षय कुमार र रजनीकान्त अभिनीत फिल्म ‘२.०’ ५ सय ७० करोड भारुमा बनेको थियो भने राम चरण र जूनियर एनटीआर अभिनीत फिल्म ‘आरआरआर’ ५ सय ५० करोड भारुमा बनेको थियो। यी फिल्मलाई उछिन्दै ‘आदिपुरुष’ भारतकाे महंगाे फिल्म बनेकाे हाे।

हालै निर्देशक ओम राउतले फिल्मको मेकिङमा केही काम गर्नुपर्ने बताउँदै प्रदर्शन मिति सारेका थिए। जनवरी १२ मा प्रदर्शन हुने भनिएको फिल्म जुन १६ मा प्रदर्शन हुनेछ।

हिन्दी, तेलेगु, तमिल, मलयालम, कन्नड गरी पाँच भाषामा प्रदर्शन हुने फिल्ममा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्।

आदिपुरुष थ्री–डी फिचर फिल्म हो। यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ। यसमा कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने फिल्म टोलीले बताएको छ।

 

साताकाे चर्चित
सम्बन्धित