दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री  
दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री  
    • Bell Sanchar

    • २६ कार्तिक २०७९, शनिबार

  गलेश्वर,२६ कात्तिक  

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँमा यस वर्ष राम्रो उत्पादन भएपछि बोटबाटै सुन्तला बिक्री भएको छ । पाक्दै गरेको सुन्तला बोटबाट पोखरा र काठमाण्डौंबाट आएका व्यापारीले खरिद गरेको स्थानीय कृषक मायादेवी पुनले बताउनुभयो ।

व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ९५ मा किनेका हुन् । दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले गतवर्ष ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा ७५ लाख गाउँमा भित्रिएको बताउनुभयो । यस वर्ष करिब दुई सय नयाँ सुन्तलाका बोटमा पनि फल लागेको र उत्पादन पनि राम्रो भएकाले करिव रु दुई करोडको हाराहारीमा सुन्तला निकासी हुने जानकारी दिनुभयो ।

पाइजाले भन्नुभयो, “यस वर्ष नयाँ विरुवा थपिएका, रोगकीराको समस्या कम र अनुकूल मौसमले उत्पादन बढेकोले गतवर्षको भन्दा बढी आम्दानी हुने आशा गरेका छौं ।” एक किसानले रु.५० हजारदेखि रु दुई लाख ३० हजारसम्मको सुन्तला बिक्री गरेका समूहले जनाएको छ । व्यापारीसँग समन्वय गरेर सुन्तलाबजार पठाउन समूहले समन्वय गरेको थियो । कूल ५७ घरधुरीको यहाँ १५ हजार मध्ये करिब आठ हजार बोटबाट उत्पादन हुन थालेको छ ।

परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान मिलन गर्बुजाले बताउनुभयो । वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट दुई लाख भन्दा बढी आम्दानी भएको उहाँले बताउनुभयो । सडक यातायातको सुविधा भएपछि बाँझो पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाइको छ ।

दश वर्षअघि मिलन गर्बुजाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो । भीरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो । दोसल्लेमा सुन्तला खेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी स्थलगत तालिममा सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

बेमौसममा सुन्तला बिक्री गर्न दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गृहको भवन बनाइएको थियो । वैदेशिक रोजगार र खेती किसानीबाट धानिएको यहाँका बासिन्दाको जीवनस्तर पछिल्लो समय व्यावसायिक सुन्तला खेतीबाट सुध्रदै गएको अन्नपूर्ण गाउँपालिकाका पूर्व उपाध्यक्ष केशमाया मगरले बताउनुभयो । —

साताकाे चर्चित
सम्बन्धित