पर्यटनमा दलीय प्रतिवद्धता   
     पर्यटनमा दलीय प्रतिवद्धता   

विदेशी पर्यटक आगमनको पछिल्लो तथ्याङ्क हेने हो भने केही सकारात्मक नतिजा दिने अपेक्षा गरिएको छ ।    

    • –सिबी अधिकारी   

    • २६ कार्तिक २०७९, शनिबार

काठमाडौँ,

सन् २०१८ र २०१९ मा वार्षिक सरदर १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिए । तर कोभिड–१९ का कारण पछिल्लो दुई वर्षमा पर्यटक आगमन डेढ लाखदेखि अढाइलाखमा खुम्चियो । कोरोना महामारीपछि भने मुलुकको पर्यटन क्षेत्र चलायमान बनेको छ । विदेशी पर्यटक आगमनको पछिल्लो तथ्याङ्क हेने हो भने केही सकारात्मक नतिजा दिने अपेक्षा गरिएको छ ।

यतिखेर मुलुकमा आम निर्वाचनको माहोल छ । साथसाथै पर्यटकीय याम पनि जारी रहेकाले विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको पाइन्छ । मुलुकको आर्थिक समृद्धिको दरिलो आधार मानिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले रणनीतिक योजना बनाएको छ । सरकारले प्रवद्र्धनका कार्यक्रम अघि सारेको छ । सरकारले सन् २०२३ देखि २०३२ सम्मको अवधिलाई ‘नेपाल पर्यटन दशक’को रुपमा मनाउने घोषणा गरेको छ ।

यसै सन्दर्भमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलले आफ्ना प्रतिवद्धतामा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । दलहरुले दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित प्रवद्र्धनका महत्वकांक्षी योजना ल्याएका छन् । गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै पर्यटकको सङ्ख्या वार्षिक २५ लाखदेखि ३० लाखसम्म पु¥याउने नीति दलहरुले लिएका छन् ।

नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दलहरुको प्रतिवद्धता छ । दलहरुको चुनावी प्रद्धिवद्धतामा मुलुकको पर्यटन क्षेत्रको खस्किएको मनोबल उकास्ने गरी आगामी पाँच वर्षे योजना समेटिएको छ । पर्यटकको सङ्ख्या बढाउनेदेखि पर्यटकको बसाई लम्ब्याएर विदेशी मुद्रा बढी भित्र्याउने योजना पनि दलीय प्रतिवद्धतामा अटाएका छन् ।

नेपाली काँग्रेसले चुनावी सङ्कल्पपत्रमा आगामी पाँच वर्ष भित्र वार्षिक २० लाख विदेशी पर्यटक पु¥याउने महत्वकांक्षी लक्ष्य लिएको छ । नेकपा (माओवादी केन्द्र)ले पर्यटन क्षेत्रको विकासका लागि नेपाल भ्रमण वर्ष घोषणा गरी ३० लाख विदेशी पर्यटक भित्रने आधार तयार गर्ने महत्वकांक्षी योजना बनाएको छ ।

त्यस्तै नेकपा (एमाले)ले आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक पु¥याउने प्रतिवद्धता जनाएको छ । तीनवटै दलले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा भित्र्याउने योजनालाई पनि चुनावी प्रविद्धतापत्रमा समावेश गरेका छन् ।

काँग्रेसले कोरोना महामारीका कारण मुलुकको पर्यटन क्षेत्रको खस्किएको मनोवल उकास्न पाँच वर्षे रणनीति अघि सारेको छ । कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान पाँच प्रतिशत पु¥याउने भनिएको छ । नेपालमा हाल पर्यटकको औसत बसाई १३ दिन छ । पर्यटकको बसाई लम्ब्याएर खर्च बढाउने काँग्रेसले नीति लिएको छ । पर्यटकको बसाई अवधि १५ दिन पु¥याउने र प्रति पर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पु¥याउने लक्ष्य लिइएको छ ।

माओवादी केन्द्रले कोभिड–१९ महामारीलगायत प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्र्षलाई थप परिस्कृत र विकास गरी भ्रमण वर्ष कार्यक्रममार्फत् ३० लाख पर्यटक भित्रयाउने आधार तयार गर्ने भनेको छ । ‘रोजगारी र समृद्धिको आधार, सबैका लागि पर्यटन’ भन्ने नाराका साथ माओवादी केन्द्रले पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवर्धन गरी दिगो पर्यटनको आधार तयार गरिने प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ ।

गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै पर्यटकको संख्या वार्षिक २५ लाख पु¥याउने नीति लिएको एमालेले नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ । ‘पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति’ नाराका साथ पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गरि पर्यटकको बसाई अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधार निर्माण तथा सुधार गर्ने एमालेको नीति छ ।

राजनीतिक दलले चुनावी प्रतिवद्धतामा समेटेका पर्यटन आगमनसम्बन्धी आँकडा अघिल्ला वर्षको भन्दा यो वर्षको वास्तविक ‘रियालिष्टिक’ रहेको नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो निर्वाचनमा ३५ लाखदेखि ५० लाख पर्यटक पु¥याउने भनिएको थियो । यो पटकको निर्वाचनमा २० लाखदेखि ३० लाख भनिएको छ, जवकी अहिले पर्यटकीय पूर्वाधार सुध्रिएको र बढेको छ । त्यस हिसावले हेर्दा यो रियालिष्टिक नै हो । तर, पर्यटनका लागि लक्ष्य मात्रै तोक्नुभन्दा वातावरण बनाउनेतर्फ दलहरुको ध्यान जानुपर्छ ।”

केही राजनीतिक दलको घोषणापत्रमा पर्यटनको राजस्व बढाउने कुरा समेटिएकाले विगतको भन्दा व्यवहारिक प्रतिवद्धता रहेको उहाँले उल्लेख गर्नुभयो । पूर्व सिइओ जोशीले कोभिड–१९ पूर्व पर्यटन क्षेत्रबाट करिब रु ७० अर्ब आम्दानी हुने गरेको र कोभिड–१९ पछि रु ४० अर्ब हाराहारीमा सीमित हुने बनाउनुभयो । उहाँले पर्यटनको सबैभन्दा बाधक भनेकै पूर्वाधार रहेकाले स्रोत बजारमा बजारीकरण, हवाई उडान विस्तार र पर्यटकमैत्री वातावरण बनाएर समन्वयकारी भूमिका खेल्नसक्नुपर्छ भन्नुभयो ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमनदर यो वर्षको हालसम्मकै बढी हो । यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार पाँच सय ८९ पर्यटक नेपाल भित्रिएका थिए । सेप्टेम्बरमा ५८ हजार तीन सय १४, अगष्टमा ४१ हजार तीन सय ४, जुलाईमा ४४ हजार चार सय ६२ र जुनमा ४६ हजार नौ सय ७५ पर्यटक नेपाल आएका थिए । त्यसैगरी, मेमा ५३ हजार छ सय ८, मार्चमा ४२ हजार छ, फेब्रुअरीमा १९ हजार सात सय ६६ र जनवरीमा १६ हजार नौ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङकले देखाउँछ । कोरोना महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आएको थियो । सन् २०२० मा दुई लाख ३० हजार ८५ पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी सन् २०२१ मा एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव ४ प्रतिशतले कम हो ।

पयर्टन बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ मा आएका कूल पर्यटकको सङ्ख्यामा ७० देखि ७५ प्रतिशतसम्म ‘रिकभर’ हुने अपेक्षा गरिएको छ । उहाँले सोअनुसार पर्यटक आगमन भइरहेको बताउनुभयो । “यही दरमा पर्यटक भित्रिए यस वर्ष ६ लाखभन्दा बढी पर्यटक आउने सम्भावना छ”, उहाँले भन्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित