स्वदेश फिर्ता राष्ट्रपति भण्डारी
स्वदेश फिर्ता राष्ट्रपति भण्डारी

फाेटाे फिचर

    • Bell Sanchar

    • २६ कार्तिक २०७९, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको भ्रमण गरेर स्वदेश फर्किएकी छन्।

राष्ट्रपति भण्डारी शनिवार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएकी हुन्।

आइसल्याण्ड भ्रमणमा रहेकी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारीले आइसल्याण्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी थिइन्।

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल) ले गत बुधवार राष्ट्रपति भण्डारीलाई अवार्डले सम्मान गरेको थियो। डब्लूपीएलका संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्डबाट सम्मान गरेकी थिइन्।

आइसल्याण्ड भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राजनीतिक व्याक्तित्वहरुसँग पनि भेट गरेकी थिइन्।

आइसल्याण्डमा आयोजित विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहीत सिद्धान्तहरुलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रवन्धहरुमा लगानी गरिरहेको बताएकी थिइन्।

उनले नेपालले संघीय र प्रादेशिक विधायिकाहरुमा एक तिहाई महिलाहरुको प्रतिनिधिको सुनिश्चित गरेको तथा त्यसका लागि आवश्यक सुदृढ संवैधानिक व्यवस्था गरेको बताएकी थिइन्।

नेपालमा निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरुजस्ता क्षेत्रमा महिलाहरुको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भइरहेको र सबै प्रकारका लैङ्गिक हिंसा, पूर्वाग्रह, तथा कुरीतिबिरुद्धको लडाई जित्न बाँकि नै रहेको उल्लेख गर्दै नेपालले त्यसका लागि अटल र इमान्दार प्रयासलाई जारी राख्ने प्रतिवद्धतासमेत व्यक्त गरेकी थिइन्। राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड प्रस्थान गरेकी थिइन्।

 

साताकाे चर्चित
सम्बन्धित