अफ्रिकन फुटबल अफ द इयर-२०१९ का विजेता साडियो माने एकाएक चर्चित स्टार
अफ्रिकन फुटबल अफ द इयर-२०१९ का विजेता साडियो माने एकाएक चर्चित स्टार

अफ्रिकन फुटबल अफ द इयर-२०१९ का विजेता साडियो माने एकाएक चर्चित स्टार बने।

    • बेल संचार

    • २६ कार्तिक २०७९, शनिबार

लिभरपुलले ३० वर्षपछि च्याम्पियन्स लिगको उपाधि चुम्न योगदान गरेका माने फुटबल जगतमा अपरिचित होइनन्। तर उनले फुटबलमा परिचय बनाउन निकै संघर्ष गर्नुपर्‍यो।

अफ्रिकन फुटबल अफ द इयर-२०१९ का विजेता साडियो माने एकाएक चर्चित स्टार बने। तर उनलाई यहाँसम्म आइपुग्न निकै संघर्ष गर्नुपर्‍यो।

सेनेगलको दुर्गम गाउँ बम्बालीमा सामान्य परिवारमा जन्मिएर अहिले राष्ट्रको गौरव बनेका मानेले स्टारडम त्यसै बनाएका होइनन्। उनको शब्दमा यसका निम्ति मानेले धेरै त्याग गरेका छन्।

आर्थिक अभाव हुँदा मानिसको बाल्यकाल कस्तो हुन्छ भन्ने उनलाई थाहा छ। बाबुआमाले स्कुल पठाउन नसक्दा कति पीडा हुन्छ त्यो मानेलाई राम्रोसँग थाहा छ।

‘मेरा आमाबाबुसँग मलाई विद्यालय पठाउने पैसा हुँदैन्थ्यो,’ उनी विगतका दिन सम्झन्छन्, ‘म तीन/चार वर्षको थिएँ हुँला। जतिबेला पनि बलसँगै हुन्थेँ र बाटोमा बच्चाहरू आउने कल्पना गरिरहन्थें। जब उनीहरू आउँथे, म उनीहरूसँगै खेल्न थाल्थें।’

उनले यसरी नै बाटोमा फुटबल खेल्न सुरु गरे। उनको उमेर बढ्दै गयो, खेल हेर्न जान थाले, जतिबेला राष्ट्रिय टिमको खेल हुन्थ्यो। जब उनी आफ्नो आइडल त्यहाँ खेलिरहेका हुन्थे, तिनको ठाउँमा मानेले आफैंलाई सम्झिन्थे।

गाउँमा स्वास्थ्यचौकी नहुँदा उपचार नपाएर सात वर्षकै उमेरमा मानेले बुवा गुमाएका थिए। मानेका बुवाले उनलाई धर्मगुरू बनाउन चाहन्थे त्यसैले उनलाई खेल्न प्रतिबन्धसमेत लगाए तर खेलबाटै कमाएर उनले त्यहाँ अहिले अस्पताल बनाए। ‘मेरो बुवा उपचार नपाएर बित्नुभएको थियो। मेरा गाउँका बासिन्दाको ज्यान बचाउन मैले अस्पताल बनाएँ,’ अस्पताल र विद्यालय बनाउन मोटो रकम खर्चिएका मानेले भने।

सन् २००० मा मानेले पहिलो पटक विश्वकप फुटबल टिभीमा हेर्ने मौका पाएका थिए। त्यसबाटै उनमा फुटबलप्रतिको भूत सवार भएको थियो।

बुवा वितेपछि स्थानीय साथीहरू भेला पारेर मानेले भोगटेलाई फुटबल बनाएर खेल्थे। सबैले मानेले उत्कृष्ट खेलेको भनेरे प्रशंसा गर्थे। फुटबलप्रतिको आफ्नो मोहबारे उनले काकालाई सुनाए।

मानेको कुरामा विश्वस्त हुँदै काकाले उनलाई गाउँबाट राजधानी जाने अनुमति दिए। ‘सन् २००० को विश्वकप खेल हेरेपछि गाउँमा म साथीहरूसँग फुटबल खेल्थेँ। सबैले मेरो खेलको तारिफ गर्थे। परिवार मलाई धर्म गुरू बनाउन चाहान्थ्यो। फुटबप्रतिको मेरो मोहबारे काकालाई सुनाएपछि उनले गाउँ छोडेर राजधानी जाने अनुमति दिए। बम्बालीका गाउँलेले मलाई चन्दा उठाएर सहर पठाएका थिए,’ मानेले विगत स्मरण गर्दै भनेका छन्।

१५ वर्षको उमेरमा फुटबलमा भविष्य खोज्न उनले गाउँ छोड्ने निधो गरे। आफ्नो  खेल कौशल देखाउन उनले  ८ सय किलोमिटरको यात्रा तय गरेर गाउँ छोडेका थिए। अन्ततः माने सफल भएर मात्रै गाउँ फिरे।

उनको फुटबल यात्रा स्थानीय जेनरेसन फुट नामक क्लबबाट भएको थियो। त्यहाँबाट उनले लिग खेल्ने अवसर पनि पाए। स्थानीय क्लबबाट ९० खेल खेल्दा मानेले १ सय ३१ गोल गरेका थिए।

स्थानीय क्लबबाट लिग खेल्दै गर्दा उनी फ्रान्सेली फुटबल क्लबको आँखामा परे। सेनेगलको क्लब, जेनेरसन फुटसँग फ्रान्सेली क्लबको सम्बन्ध राम्रो थियो। त्यहीँ सम्बन्धका आधारमा मानेको अन्तर्राष्ट्रिय फुटबल यात्रा तय भएको थियो।

उनले सन् २०११ मा  मेजमा प्रवेश गरेका थिए। फ्रान्सेली क्लब मेजबाट खेलिरहेका मानेलाई अष्ट्रियाको क्लबले आँखा लगायो। मेजका अध्यक्ष बर्नाड सरिनले मानेको मुल्य ४० लाख युरो तोके। अष्ट्रियाली क्लब आरबी साल्जबर्जले मेजको प्रस्ताव स्वीकार गर्‍यो।

मेजले आफूलाई विक्री गरेपछि माने खुब रोएका थिए। त्यस क्षण स्मरण गर्दै उनले भनेका छन्, ‘फुटबलमा मेरो व्यवसायिक यात्रा मेजबाटै सुरूआत भएको थियो। जब क्लबले मलाई अष्ट्रिया जानैपर्ने भन्यो र म खुब रोएँ। अष्ट्रिया मेरो लागि सम्पूर्ण रूपमा नौलो थियो। मेज मेरो दोस्रो घर थियो,’ उनले भने।

सन् २०१२ देखि मानेले आरबी सार्ल्जमार्फत अष्ट्रियन बुन्डेसलिगा खेल्न थाले। त्यहाँबाट ८७ खेल खेलेका मानेले ४५ गोल गरे भने उनको सहयोगमा क्लबले ३२ गोल जोड्यो।

आरबी सार्ल्जमा देखाएको प्रदर्शनबाट साउथएम्टन लोभियो। सन् २०१४ मा साउथएम्टले मानेलाई १ करोड पाउन्डमा भित्र्यायो। मानेले साउथएम्टनबाट पहिलोपटक इंग्लिस प्रिमयर लिगमा डेब्यू गरे।

साउथ ह्याम्टनमा रहँदा उनको एउटा रेकर्ड निकै गज्जबको छ। २०१४–१५ सिजनको अन्तिम खेल थियो। २ मिनेट ५६ सेकेन्डमा मानेले तीन गोल गरेर एस्टनल भिल्लाविरुद्ध ६–१ को जित निकाले।

अहिलेसम्म पनि उनले सबैभन्दा छोटो समय गरेको ह्याट्रिकको रेकर्ड तोडिएको छैन। त्यसको अर्को वर्ष उनले लिभरपुललाई हराउन दुई गोल गरे भने म्यानचेस्टर सिटीलाई हराउन हयाट्रिक गरेका थिए। सन् २०१५/१६ मा प्रिमियर लिगमा उनले व्यक्तिग १५ गोल गर्दै क्लबको ९ गोलका निम्ति सहयोग गरेका थिए।

साउथएम्पटनका लागि उनले देखाएका कौशलबाट लिभरपुल लोभियो। सन् २०१६ मा मानेलाई ३ करोड ४० लाख युरोमा भित्र्यायो।

बेतोड प्रदर्शन देखेर लिभरपुलले उनका लागि ३४ मिलियन डलर खर्च गरेको थियो। यससँगै सेनेगलको गरिबी छिचोल्दै फुटबलमा भविष्य खोज्न आएका माने सबैभन्दा महँगा अफ्रिकन खेलाडीका रूपमा दर्ज भए।

त्यसपछि लिभरपुलबाट उनले एफए कप, च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधि जिते। त्यस्तै, उनले त्यहाँबाट ईएफएल कप, क्लब विश्वकप र यूईएफए सुपर कप पनि जितेका थिए। उनले सबै प्रतियोगितामा १२० गोल गरे।

सन् २०१६ को सिजनमा उनले आर्सनलविरुद्धको खेलमा लिभरपुलबाट डेब्यु खेलमै गोल गरेका थिए। त्यसपछि फुटबलमा मानेले पछाडि फर्कनुपरेन। लिभरपुलका ८ गोल मानेको सहयोगमा भएको थियो भने उनले व्यक्तिगत १३ गोल गरेका थिए। सन् २०१६ मा माने प्लेयर अफ द सिजनसमेत भए।

सन् २०१९ मा लिभिरपुल च्याम्पिन्स लिगको  फाइनलमा प्रवेश गरेको थियो। लिभरपुले रियल मड्रिडविरुद्ध ३-१ ले जित्दा मानेले समेत गोल गरेका थिए। च्याम्पिन्यस लिगमा स्कोर गर्ने पहिलो सेनेगल खेलाडी मानेनै हुन्।

लिभरपुरका निम्ति २२ गोल गरेका उनले प्रिमियर लिगको गोल्डेन बुट समेत जिते। सन् २०२० मा ३० वर्षपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि चुमेको थियो। त्यस खेलमा समेत मानेले स्कोर गरेका थिए। सन् २०१९/ २० को सिजनमा मानेले लिभरपुलका निम्ति व्यक्तिगत २२ गोल गरेका थिए।

सन् २०१९ मा उनले सेनेगलको राष्ट्रिय टोलीबाट अफ्रिकन कप अफ द नेशन  खेले। तर फाइनलमा अल्जेरियासँग सेनेगलमा १-० ले स्तब्ध भयो। तर सन् २०२२ मा उनले सेनेगललाई अफ्रिकन कप अफ नेसनका उपाधि पनि दिलाए।

सन् २०२२ मा मानेलाई वार्यन म्युनिखले  ३ करोड ६० लाख युरोमा भित्र्याएको छ।

माने महँगो खेलाडीकै सूचीमा छन्। आफूले आर्जन गरेको सम्पत्ति राष्ट्रलाई सहयोग पनि गरिरहेकै छन्। अस्पताल, स्कुल र मस्जिद बनाउन उनले बारम्बार सहयोग गरिरहेका छन्।

आफू जन्मिएको गाउँ बम्बालीमा स्कुल बनाउन उनले २ लाख ५० हजार युरो सहयोग गरे। कोरोनाविरूद्ध लड्न सेनेगललाई ४१ हजार युरो दिए।

सहयोगबारे माने भन्छन्, ‘गरिबीबाट उठेकाले सम्भ्रान्त जीवन जिउने कुनै चाहना छैन। मलाई फरारी किन चाहियो? हिराको घडी अथवा हवाइजहाज किन आवश्यक पर्‍यो? म बरू  सेनेगलमा स्कुल, रंगशाला अस्पताल बनाउन सहयोग गर्छु। अति विपन्न परिवारलाई केही रकम सहयोग गर्छु। सिनेगलवासीले चन्दा उठाएर मलाई फुटबल खेल्न पठाएका थिए। मैले आर्जेको रकम उनीहरूकै हितमा सहयोग गर्न चाहन्छु।’

सेनगलको नाममा ३४ गोल गरेका माने अहिले घाइते छन्। सेनेगलको सूचीमा उनको नाम पनि समावेश छन् तर चोटका कारण विश्वकप खेल्छन् वा खेल्दैनन् अझै अन्यौल छ।

उतिबेला कष्टकर जीवन बिताएका माने अलि लोभलाग्दो जीवन बिताइरहेछन्।

(विभिन्न एजेन्सीको सहयोगमा शिशिर ढकालले तयार पारेको सामग्री)

साताकाे चर्चित
सम्बन्धित