प्रभावकारी बन्दै ‘बालसंरक्षण कोष’   
     प्रभावकारी बन्दै ‘बालसंरक्षण कोष’   

अहिले कोषबाट शैक्षिक सामग्रीसँगै विद्यालय पोसाक र आवश्यक रकम समेत सहयोग भएको छ ।    

    • बेल संचार

    • २७ कार्तिक २०७९, आईतवार

सुर्खेत (भेरीगङ्गा), 

दैलेख गुराँस गाउँपालिका– ६ की वृिद्ध विकको परिवार आर्थिकरुपले कमजोर छ । छ सन्तानकी अभिभावक बृद्धिलाई छोराछोरीको लालनपालन र शिक्षादीक्षामा समस्या हुदा स्थानीय पालिका अन्तर्गतको बाल संरक्षण कोषले सहयोग गरेर पठनपाठन अगाडी बढेको छ ।
विकका हुर्किएका छोराछोरीको विवाह गरेर आफ्नो पेस व्यवसायमा लागिसकेका छन् । तर सानै उमेरका दुई सन्तानको लालनपालन र पठनपाठनका लागि बाल संरक्षण कोष निक्कै उपयोगी बनेको छ ।

वृद्धिका श्रीमान्को मृत्यु भएपछि उहाँको झनै कमजोर आर्थिक अवस्थामा छोराछोरी लाई लालनपालन र पठनपाठन जटिल बनेको थियो । तर स्थानीय बिद्यालयमा कक्षा ५ मा पढ्दै गरेका एक छोरा डम्बर विक लाई वडा कार्यालयले बनाएको बाल संरक्षण कोषबाट सहयोग प्राप्त भएपछि पठनपाठनमा सहज भएको उहाँ बताउनु हुन्छ । अहिले कोषबाट शैक्षिक सामग्रीसँगै विद्यालय पोसाक र आवश्यक रकम समेत सहयोग भएको छ ।

सोही ठाउँकी सरस्वती हुन्चिङ मगर पनि अभिभावक बिहीन हुनुहुन्न । उहाँ अहिले मामाघरमा बस्दै आउनुभएको छ । स्थानीय बिद्यायलको तीन कक्षामा अध्ययन गर्ने सरस्वतीको समस्या उस्तै रहेको थियो । स्थानीय बाल कोषबाट कापी, किताब अनि ड्रेस सहयोग आउन थालेपछि भाञ्जीलाई पढाउन सहज भएको माइजु शारदा पुनमगर बताउनुहुन्छ ।

विसं २०७५ मा पूर्ववडा अध्यक्ष हिमबहादुर ओलीको पहलमा स्थापना भएको उक्त बाल कोषबाट डम्बर र सरस्वती मात्रै होइन वडा नं ६ का २४ जना विभिन्न जोखिम तथा गरिबीको रेखामुनी रहेका बालबालिकाले शिक्षा, स्वास्थ्यलगायतमा सहयोग पाउँदै आएका छन् । वडा नम्बर ६ मा रहेको बालसंरक्षण कोष प्रभावकारी बन्दै गएको छ ।
जोखिम तथा गरिबीको रेखामुनि रहेका परिवारका बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको कोष प्रभावकारी बन्दै गएको हो ।
वडा नं ६ का पूर्ववडा अध्यक्ष हिमबहादुर ओलीले आफ्नो एक महिनाको सेवासुविधा सहित स्थानीय सहयोगबाट कोष स्थापना गरिएको बताउनु हुन्छ । कोषमा सेभ द चिल्ड्रेन, सामाजिक सेवाकेन्द्र (सोसेक) नेपालले पनि सहयोग गरेको उहाँ बताउनुहुन्छ ।

बालबालिकाका क्षेत्रमा काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले जोखिम, असाय बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतमा सहयोग गर्दै आएको संस्थाका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताउनुभयो ।

कोषमा जम्मा भएको रकम अहिले सहकारीले चलाइरहेको छ । स्थानीय नवयुग सहकारी संस्थामा जम्मा भएको रकमलाई सहकारीले १२ प्रतिशत व्याज दिने गरेको छ । उक्त व्याजबाट आउने रकम असाय र जोखिम बालबालिकाको शिक्षा, स्वास्थ्यमा खर्च गर्ने गरिन्छ । कोषमा अहिले रु एक लाख ४० हजार जम्मा भएको छ ।

कोष स्थापनापछि गुराँस गाउँ कार्यपालिकाबाट निर्णय नै भएर त्यसलाई अझै प्रभावकारी बनाउने निर्णय यसअघि नै भइसकेको भन्दै वडाध्यक्ष चन्द्रबहादुर रानाले बालकोषलाई व्यवस्थित गर्न कार्यविधि बनाउने तयारी गरिएको जानकारी दिनुभयो ।

उहाले कोही पनि बालबालिका शिक्षा, स्वास्थ्यबाट वञ्चित हुन नदिने अठोट रहेको भन्दै कोषको आकार ठूलो बनाउन सहयोगी निकायसँग पनि समन्वय गरिने बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित