इंग्ल्याण्डबाट चोरी भएको विश्वकप ट्रफी कुकुरले फेला पारेको थियो
इंग्ल्याण्डबाट चोरी भएको विश्वकप ट्रफी कुकुरले फेला पारेको थियो

विश्वकपको ट्रफी डिजाइनको जिम्मेवारी फ्रान्सेली मूर्तीकार एबल लफ्लरलाई दिइयो।

    • Bell Sanchar

    • २७ कार्तिक २०७९, आईतवार

सन् १९६६ को फिफा विश्वकप इंगल्याण्डमा आयोजना हुने निधो भएको थियो। ११ जुलाईबाट खेल हुने तय भए पनि २० मार्चबाट विश्वकप ट्रफी वेस्टमिनस्टरस्थित हलमा प्रदर्शनमा राखिएको थियो। त्यहीँ बेला ट्रफी चोरी भयो। चोरी भएको एक सातापछि उक्त ट्रफी कुकुरले फेला पारेको थियो।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का तेस्रो अध्यक्ष जुल्स रिमेटले सन् १९२८ मा विश्वकप ट्रफीको अवधारणा अघि सारेका थिए। विश्वकप ट्रफी सहितको पहिलो संस्करण उरूग्वेमा आयोजनाका लागि उनले मतदानबाट निर्णय गराए।

विश्वकपको ट्रफी डिजाइनको जिम्मेवारी फ्रान्सेली मूर्तीकार एबल लफ्लरलाई दिइयो। ग्रीकमा विजेताकी देवीका रूपमा पुजिने निकीले अष्टभुज उचालेको स्वरूपमा उनले  ट्रफी तयार गरे।

ट्रफीको उचाई ३५ सेन्टिमिटर र तौल ३.८ किलोग्राम थियो। चाँदीको ट्रफीमा सुनको लेपन लगाइएको थियो भने त्यसको सतह ल्यापिस ल्याजुली नामक महँगो पत्थरबाट तयार गरिएको थियो।

सन् १९३० को विश्वकपका लागि ट्रफीलाई उरूग्वे पुर्‍याइयो। विश्वकप ट्रफीसहितको पहिलो संस्करणको विजेता उरूग्वेनै भयो। सन् १९३४ मा विजेता बनेर इटालीले यो कपलाई युरोप पुर्‍यायो। सन् १९३८ मा इटालीलेनै विश्वकप जित्यो।

दोस्रो विश्वयुद्धको संघारमा ट्रफीको सुरक्षा चुनौतीपूर्ण थियो। ट्रफीलाई सुरक्षित राख्न फिफाका उपाध्यक्ष समेत रहेका इटालियन ओटोरिनो बरासीले जुत्ताको खोलमा हालेर खाटमुनि राखेका थिए।

दोस्रो, विश्वयुद्धभर उनले ट्रफीलाई सुरक्षित राखे। दोस्रो विश्वयुद्ध अन्त्य भएपछि सन् १९५० मा विश्वकप ब्राजिलमा हुने निधो भयो। त्यो विश्वकपबाट ट्रफीको उचाई बढाइयो। आयोजक ब्राजिललाई ४-३ ले स्तब्ध बनाउँदै उरूग्वेले विश्वकपको उपाधि चुम्यो।

सन् १९४६ मा  फिफाका तेस्रो अध्यक्षको सम्मानमा सन् १९४६ मा ट्रफीको नामनै जुल्स रिमेट राखियो। सन् १९५४, सन् १९५८ र सन् सन् १९६२ मा त्यहीँ ट्रफीमा खेल भयो।

सन् १९६६ मा विश्वकपको आयोजना इंग्लाण्डमा गरिने तय भयो। विश्वकपको जुल्स रिमेट ट्रफीलाई प्रदर्शनका लागि वेस्टमिन्सटरस्थित हलमा राखिएको थियो।  त्यहीँबाट चोरी भयो।

विश्वकप आयोजना हुन चार महिना अगावै ३० हजार पाउण्ड मुल्य बराबरको ट्रफी चोरी भएपछि तनावको स्थिति उत्पन्न भयो। ट्रफी चोरी भएको केही समयपछि फिरौती रकम माग गर्दै ज्याकसन नामक व्यक्तिले इंग्ल्याण्डका फुटबल अधिकारीलाई पत्र पठाए। ज्याक्सनले १५ हजार पाउण्ड फिरौती मागेका थिए। ट्रफी चाहिएमा फिरौती रकम सहित स्ट्यामफोर्ड ब्रिजमा आउन ज्याकसनले भनेका थिए। नक्कली पैसासहित फुटबलका अधिकारी तथा सुरक्षा निकायका व्यक्ति त्यसतर्फ गए।

तर केही गडबढी रहेको आशंका भएपछि फिरौती लिन आएका ज्याकसन कारबाट हाम फालेर भाग्न खोजे। उनलाई प्रहरीले समाउन सफल भयो। ज्याकसनलाई केरकार गरेपछि एडवार्ड बेच्ली पक्राउ परे। एडवार्ड आफू यसमा संलग्न नरहेको तर फिरौती माग्न विचौलियाको भूमिका निर्वाह गरेको बयान दिए। यो प्रकरणमा एडवार्डलाई दुई वर्षको जेल सजाए तोकियो तर ट्रफीको कुनै अत्तोपत्तो भएन।

मुलुकभर जुल्स रिमेट ट्रफीको खोजी जारी थियो। कार्गो जहाजका अपरेटर डेभिड कोबट लण्डनको दक्षिणपूर्वी क्षेत्र बेलहिलमा आफ्नो पिकल्स नामक कुकरसँग हिँडिरहेका थिए। कोबट, फोनका लागि टेलिफोन बुथमा पस्दा पिकल्सले एउटा कारमा रहेको वस्तुलाई सुँघ्दै थियो। यो वस्तु शंकास्पद बम हुने आशंका गरे। तर कुकरले निरन्तर कोट्याएपछि उनलाई पनि पोको पारिएको वस्तु के होला भन्ने जिज्ञासा भयो। ‘मैले अखबारमा पोको पारिएको वस्तु उचाले र त्यसलाई खोलेँ।  हेर्दा त विश्वकप ट्रफी थियो। म घरभित्र पसेँ र चिच्याएँ मैले विश्वकप ट्रफी फेला पारेँ।’

विश्वकप ट्रफी फेला पार्ने कुकुर पिकल्स, तस्बिर : गेट्टी इमेज

ट्रफी हस्तान्तरणका लागि कोबट स्थानीय प्रहरी समक्ष पुगे। तर उनीनै चोर रहेको शंका गर्दै प्रहरीले हिरासतमा राख्यो। पिकल्सको सहायतामा ट्रफी भेट्टाएको बयानपछि उनी रिहा भए। ट्रफी हराएर तनावमा परेको इंग्ल्याण्डलाई पिकल्स नामक कुकुरले  राहत दिएपछि ऊ टेलिभिजनमा पनि छायो।

वेम्बली रंगशालामा भएको जर्मनी विरूद्धको भिडन्तमा ४-२ ले हराउँदै इंग्ल्याण्डले हराएर फेला परेको ट्रफी घरमै राख्यो।

सन् १९७० मा पनि जुल्स रिमेट ट्रफीमै खेल भएको थियो। इटालीलाई स्तब्ध बनाउँदै ब्राजिल विश्व विजेता बन्यो। तीन पटक विश्वविजेता बनेपछि त्यो ट्रफी स्थायी रूपमा ब्राजिलकै भयो। सन् १९७४ देखि विश्वकपको नयाँ ट्रफीमा  खेल हुन थाल्यो।

विभिन्न एजेन्सीको सहयोगमा शिशिर ढकालले तयार पारेको सामाग्री

साताकाे चर्चित
सम्बन्धित