विद्रोहको औचित्य पुष्टि गर्न मतदाताको शरणमा ,रामकुमारी झाँक्री
विद्रोहको औचित्य पुष्टि गर्न मतदाताको शरणमा ,रामकुमारी झाँक्री

तिनै झाँक्री अहिले प्रतिनिधिसभा सदस्यका लागि गुल्मी–२ बाट उठेकी छन्, जहाँ एमालेमा रहँदाका सहकर्मी गोकर्ण विष्ट प्रतिस्पर्धामा छन् ।

    • Bell Sanchar

    • २८ कार्तिक २०७९, सोमबार

विद्यार्थी राजनीतिको बेला रामकुमारी झाँक्री राष्ट्रिय चर्चामा रहिन्, त्यो पनि पटक–पटक । २०६२–६३ को जनआन्दोलनको अग्रमोर्चामा खटिंदा प्रहरी दमनमा रगताम्य भएका उनका तस्बिरहरू अहिले पनि सामाजिक सञ्जालमा भेटिन्छन् ।

नेकपा (एमाले)बाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठनको बेला लिएको अडानले पनि रामकुमारी झाँक्रीलाई चर्चामा ल्यायो । तिनै झाँक्री अहिले प्रतिनिधिसभा सदस्यका लागि गुल्मी–२ बाट उठेकी छन्, जहाँ एमालेमा रहँदाका सहकर्मी गोकर्ण विष्ट प्रतिस्पर्धामा छन् ।

झाँक्रीका लागि यो निर्वाचन पार्टी विभाजनको औचित्य पुष्टि गर्ने परीक्षा बनेको छ । उनलाई सत्तारुढ गठबन्धनको राम्रो साथ छ, तर प्रतिस्पर्धी छन्, एमालेमा आफ्ना सिनियर गोकर्ण विष्ट ।

गुल्मीको म्यालपोखरी गाउँमा जन्मिएकी ४५ वर्षीया झाँक्री विद्यार्थी संगठनबाट राजनीतिमा आएकी थिइन् । पुर्कोट दहको पृथ्वी माध्यमिक विद्यालयमा पढ्दा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा संगठित भएकी उनी २०४७ मा प्रारम्भिक कमिटी सहसचिव, २०४९ मा कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्यहुँदै २०५० मा क्षेत्रीय कमिटी अध्यक्ष चुनिइन् । क्याम्पस पढ्न २०५१ मा काठमाडौं आएपछि पद्मकन्याको इकाइको सदस्य, सचिव हुँदै अध्यक्ष बनिन् ।

लामो समय विद्यार्थी राजनीतिमा बिताएकी झाँक्री २०५३ सालमा अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटी सदस्य, २०५४ मा उपाध्यक्ष, २०५६ सालमा केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य र महिला विभाग प्रमुखमा दुई कार्यकाल बिताइन् ।

२०५७ र २०५९ मा अनेरास्ववियुको प्रचार विभाग प्रमुख, सम्पर्क विभाग प्रमुख, २०६३ मा केन्द्रीय उपाध्यक्ष र २०६५ मा केन्द्रीय अध्यक्ष निर्वाचित भइन् । २०७१ मा माउ पार्टी एमालेको केन्द्रीय सदस्य र २०७४ सालमा समानुपातिक सांसदको जिम्मेवारी पाइन् ।

एमाले विभाजनपछि २०७८ भदौबाट एकीकृत समाजवादीको सचिव रहेकी उनी २०७८ असोजमा शहरी विकासमन्त्री पनि बनिन् । २०६२÷६३ को जनआन्दोलनमा पटक–पटक घाइते भएकी, घाइते अवस्थामै हिरासतमा परेकी, राज्यविरुद्धको कसुरमा मुद्दा खेपेकी झाँक्री पहिलो पटक गुल्मी–२ बाट जनअनुमोदित हुने महासंग्राममा छिन् ।

चुनावी अंकगणित

गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले दलगत रूपमा पाएको मतमा गुल्मी-२ मा एमाले अगाडि छ । उक्त चुनावमा एमालेले ३१ हजार २५३, नेपाली कांग्रेसले २९ हजार ८२१ र माओवादी केन्द्रले १ हजार ८४१ मत ल्याउँदा समाजवादी केन्द्रले ६५८ मात्र मत पाएको छ ।

यो चुनावी नतिजाले झाँक्री सम्पूर्ण रूपमा सत्ता गठबन्धनका दलहरूको भरमा रहेको देखाउँछ । गठबन्धनको मत जोगाउँदै आफ्नो पूर्वपार्टी एमालेको मत तान्न सके उनको जित सम्भव देखिन्छ । यसका लागि उनी गठबन्धनको शक्ति र आफ्नो राष्ट्रिय छविको उपयोग गर्ने प्रयासमा छिन् ।

साताकाे चर्चित
सम्बन्धित