किन भयो गाडीमा आक्रमण रवि लामिछानेको ?
किन भयो गाडीमा आक्रमण रवि लामिछानेको ?

सत्ता गठबन्धनको घरदैलो टोली पनि मुग्लिनको सभा सकेर त्यही बाटो हुँदै फर्किँदै थियो ।

    • Bell Sanchar

    • २८ कार्तिक २०७९, सोमबार

काठमाडौं

आइतबार अपराह्न साढे ३ बजेतिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको घरदैलो टोली चितवनको इच्छाकामना गाउँपालिका–४ मा घरदैलो सकेर मुग्लिनतिर आउँदै थियो ।

सत्ता गठबन्धनको घरदैलो टोली पनि मुग्लिनको सभा सकेर त्यही बाटो हुँदै फर्किँदै थियो । लामिछाने र सत्ता गठबन्धनको घरदैलो टोलीबीच लेवाटारमा जम्काभेट भयो ।

लामिछानेका सहयोगी प्रकाश सिग्देलका अनुसार दुवै टोली आमनेसामने भएपछि लामिछाने दुई/तीन सय मिटर अगाडि रोकिएर घरदैलो अभियानमा सरिक भए । उनका अनुसार त्यतिञ्जेल एउटा गाडी पछाडि नै थियो । त्यही बेला सत्ता गठबन्धनको एउटा समूहले विवाद गरेको उनी बताउँछन् ।

‘हामीले अगाडि गाडी रोकेपछि उहाँहरु पनि दुई/तीन सय मिटर अगाडि गएर रोक्नुभएछ, त्यसपछि केही मान्छेहरु आउनु भयो र आक्रमण गरेर भागेका हुन्’, सिग्देलले भने, ‘प्रहरीले पनि साथमै हुँदा सत्ता गठबन्धनका कार्यकर्ताले गाडीमा चढेर लात्ताले हानेर सिसा फुटाएका हुन् ।’

उनले राजनीतिक प्रतिष्पर्धाको विषयलाई लिएर आक्रमण गरिएको भन्दै आपत्ति जनाए । लामिछानेले पनि प्रहरीसमक्ष आफू असुरक्षित भएको बताएका छन् ।

प्रहरी के भन्छ ?

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डित चाहिँ दुई पक्षको टोली क्रस हुने बेला विवाद भएको बताउँछन् । ‘लामिछानेको घरदैलो टोलीले जिस्काएपछि विवाद हुँदा तोडफोड भएको देखिएको छ’, उनले अनलाइनखबरसँग भने, ‘कारण चाहिँ खुलेको छैन, राजनीतिक गतिविधि भएकाले राजनीतिक विषय नै हुनसक्छ ।’

सत्तारुढ नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ घटना बाहिर सार्वजनिक भएजस्तो नभएको दाबी गर्छन् । ‘कुरिनटारमा घरदैलो सकेर आउँदै थियौं, रास्वपाका उम्मेदवारहरुसँग भेट भयो’, उनले भने, ‘लामिछानेजीले हात हल्लाएर हाँसेर राम्रोसँग अगाडि जानु भयो ।’

तर लामिछानेले गइसकेपछि विवाद भएको श्रेष्ठले बताए । ‘पछाडि गाडीहरु थिए, त्यहाँ बसेका मान्छेले मादक पदार्थ पनि सेवन गरेका थिए’, उनले भने, ‘उनीहरुले दुर्व्यवहार गरेपछि विवाद भएको हो ।’

त्यसबारे आफूहरुले जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख नवराज अधिकारीलाई पनि जानकारी गराइसकेको उनले बताए । आफूहरुको नियत खराब भएको भए लामिछाने हुँदै विवाद हुने बताए । ‘तर उहाँ हुँदासम्म केही भएको थिएन नि !’, श्रेष्ठले थपे ।

साताकाे चर्चित
सम्बन्धित