दार्चुलामा एमाले कार्यकर्ताबाट कुटिएका माओवादी कार्यकर्ता बीएण्डबी रिफर
दार्चुलामा एमाले कार्यकर्ताबाट कुटिएका माओवादी कार्यकर्ता बीएण्डबी रिफर

नौगाड गाउँपालिका-६ खेडमा एमाले कार्यकर्ताहरुले आइतबार दिउँसो जयभानलाई घेरा हालेर आक्रमण गरेका थिए ।

    • Bell Sanchar

    • २८ कार्तिक २०७९, सोमबार

काठमाडौं

दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताहरुको आक्रमणबाट जयभान सिंह धामी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल ल्याइएको छ । माओवादी केन्द्रको काठमाडौं-दार्चुला समन्वय समितिका अध्यक्ष हुन् ।

नौगाड गाउँपालिका-६ खेडमा एमाले कार्यकर्ताहरुले आइतबार दिउँसो जयभानलाई घेरा हालेर आक्रमण गरेका थिए । सामाजिक सन्जालमा सार्वजनिक भएको एक भिडियोमा दर्जन बढीको समूहले अन्धाधुन्द आक्रमण गरेको देखिन्छ । धनगढीमा प्रारम्भिक उपचार गरेपछि उनलाई बीएण्डबी अस्पताल रिफर गरिएको छ ।

आक्रमणको विरोधमा आज सत्ता गठबन्धनका कार्यकर्ताहरुले गोकुलेश्वर खार खलंगा खण्डको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध पारेका छन् ।

माओवादी केन्द्रको जिल्ला समन्वय समिति सदस्य प्रेमसिंह धामीले मार्मा गाउँपालिकामा चुनाव प्रचार र्‍याली सकेर नौगाडको कार्यक्रममा सहभागी हुँदै गर्दा एमाले कार्यकर्ताहरुले आक्रमण गरेको बताए । ‘हामी खेडमा खाना खाने तयारीमा थियौं, त्यही बेला एकछिन छलफल गरौं भनेर गोरे धामीले बोलाउनुभयो,’ प्रेमसिंहले भने, ‘हाम्रा साथीहरु होटलबाट बाहिर निस्किनासाथ रडले आक्रमण सुरु भयो ।’

गोरे धामी २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट नौगाड गाउँपालिका-६ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक पनि टिकटको दाबी गरे पनि नपाएपछि उनी एमाले प्रवेश गरेका थिए ।

माओवादी कार्यकर्ता प्रेमसिंह धामीले यो आक्रमणमा गोरे धामी, रमेश धामी, जयलाल ठेकरे लगायतको संलग्नता रहेको दाबी गरे ।

तीन दिन अगाडि पनि एमाले कार्यकर्ताहरुले अपी हिमाल गाउँपालिका ओखलमा जनत धामीलाई आक्रमण गरेका थिए । जनतको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकैभरी टाँकैटाँका लगाएको छ ।

नेकपा एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिह ठगुन्नाले भने चुनावीसभामा जाने क्रममा वडा नम्बर ६ बाट जाने गाडी र सर्वसाधारणलाई गठबन्धनका कार्यकर्ताले रोकेपछि झडपको अवस्था आएको बताए । ‘कार्यक्रममा जाने मान्छे रोकिए, एमालेको झण्डा च्यातियो,’ उनले भने, ‘बुढाबुढीमाथि कुटपिट भएपछि झडप भएको हो ।’ अनलाइनखबर

साताकाे चर्चित
सम्बन्धित