मध्यविन्दु,
: पूर्वी नवलपरासीको देबचुली नगरपालिका–४ मा मतपेटिका जलाएका कारण रद्द गरिएको निर्वाचन भोलि नै हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज स्थगित भएको सो वडामा भोलि बिहान ७ देखि साँझा ५ बजेसम्म मतदान हुने जानकारी दिनुभयो । स्थानीय नारायण भण्डारीले शान्ति सृजना आधारभूत विद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहाँ पुनः निर्वाचन हुने भएको हो । त्यहाँका निर्वाचन अधिकृत माधवराज गौतमले निर्वाचन रद्द गरिएको प्रतिवेदन जिल्ला निर्वाचन अधिकृतलाई बुझाइएको जानकारी दिनुभयो ।
गौतमका अनुसार स्थानीय नारायण भण्डारीले प्रदेश समानुपातिकतर्फको मतपेटिका जलाएका थिए । अन्य तीनवटा मतपेटिकामा मत खसालेपछि भण्डारीले अन्तिम मतपेटिकामा बडिलोसन (शरीरमा दल्ने औषधी) हालेर आगजनी गरेका हुन । नौ सय ८० मतदाता रहेको यस निर्वाचन केन्द्रमा सात सय मत खसेको थियो छ । आगजनी गरेपछि भण्डारी भागेका थिए । उनलाई करिब दुई किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।