विश्वकप फुटबल : ६४ वर्षपछि विश्वकप खेल्दै वेल्स
विश्वकप फुटबल : ६४ वर्षपछि विश्वकप खेल्दै वेल्स

यो खेल अहमद बिन अली स्टेडियममा नेपाली समयअनुसार मध्यराति पौने १ बजे सुरु हुनेछ ।

    • Bell Sanchar

    • ५ मंसिर २०७९, सोमबार

काठमाडौं

फिफा विश्वकप २०२२ अन्तर्गत सोमबार राति समूह बी मा रहेका अमेरिका र वेल्सबीच खेल हुँदैछ । यो खेल अहमद बिन अली स्टेडियममा नेपाली समयअनुसार मध्यराति पौने १ बजे सुरु हुनेछ ।

वेल्स ६४ वर्षपछि विश्वकपमा पहिलो खेल खेल्दैछ । सन् १९५८ पछि विश्वकपमा वेल्सलाई नेतृत्व गर्ने वेल्सका कप्तान गारेथ बेल तयार छन् ।

वेल्सले पछिल्लो दुई युरोकप खेले पनि विश्वकपमा छनोट हुन भने ६ दशकभन्दा बढी समय पर्खिनुपरेको थियो । वेल्स विश्वकपमा पहिलो र दोस्रो सहभागिताका लागि सबैभन्दा लामो समय पर्खिने टिम हो ।

‘विश्वकपका लागि छनोट हुनु हाम्रो देशको लागि सायद सबैभन्दा ठूलो सम्मान हो, जुन हामीले ६४ वर्षसम्म गर्न सकेका छैनौं,’ बेलले भने, ‘यो हाम्रो देशको इतिहास हो । विद्यालयहरू हाम्रा खेल (इरान विरुद्धको दोस्रो खेल) हेर्न बन्द गरिनेछ ।’

बेलले विश्वकप खेल्नु देशको लागि ठूलो इतिहास भएको बताउँदै लामो समयदेखि यसको पर्खाइमा रहेको बताए । ६४ वर्षपछि विश्वकप खेल्न लागेको वेल्स त्यसलाई यादगार बनाउन चाहन्छ ।

उता २०१८ मा छनोट हुन नसकेको अमेरिका आठ वर्षपछि विश्वकप खेल्दैछ । अमेरिका पनि सुखद् सुरुवात गर्न चाहन्छ । वेल्स र अमेरिका कतार विश्वकपको कम औसत उमेर भएको टिम हो । अमेरिकाको औसत उमेर २४ र वेल्सको औसत उमेर २५ वर्ष छ ।

अमेरिका र वेल्स अहिलेसम्म दुई पटक आमनेसामने भएका छन् । जसमा अमेरिकाले एक खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । तर विश्वकपमा भने पहिलो पटक भिड्न लागेका हुन् । सन् २००३ मा अमेरिकाले वेल्सलाई पराजित गरेको थियो । तर २०२० मा भएको पछिल्लो भेटमा भने खेल बराबरीमा सकिएको थियो ।

अमेरिकाका कफरवार्ड क्रिस्टियन पुलिसिकले फुलाई प्रमाणित गर्नुपर्ने र विश्वकपमा राम्रो प्रदर्शन गर्न सके धेरै कुरा परिवर्तन हुने बताए । ‘मलाई लाग्छ हामीले आफूलाई प्रमाणित गर्नुपर्छ । हालका दशकमा हामी विश्वका केही पावरहाउसहरूको स्तरमा हुन सकेका छैनौं । हामीसँग धेरै हृदय र दिमाग भएका राम्रा टोली छन् । तर मलाई लाग्छ कि हामी यसलाई अर्को चरणमा लैजान सक्छौं । एक सफल विश्वकपले धेरै कुरा परिवर्तन गर्न सक्छ,’ वेल्ससँगको खेलअघि अमेरिकी फरवार्ड क्रिस्टियन पुलिसिकले भनेका छन् ।

फिफा वरीयतामा अमेरिका १६ औं स्थानमा छ भने वेल्स १९ औं स्थानमा छ ।

साताकाे चर्चित
सम्बन्धित