नेपालका पुराना वामपन्थी नेता झलनाथ खनालले फेरि एकपटक चुनावी असफलता भोगे
नेपालका पुराना वामपन्थी नेता झलनाथ खनालले फेरि एकपटक चुनावी असफलता भोगे
    • बेल संचार

    • ११ मंसिर २०७९, आईतवार

राजनीतिक जीवनको उत्तरार्धमा आएर नेपालका पुराना वामपन्थी नेता झलनाथ खनालले फेरि एकपटक चुनावी असफलता भोगेका छन्।

प्रत्यक्षको मतगणना सकिँदा महेश बस्नेतले २५ हजार ६९९ मत पाएका छन् भने खनालले २३ हजार ४५ मत पाएका छन्। उनीहरूबीच २ हजार ६५४ मतान्तर छ।

निर्वाचन अधिकृत राजकुमार दाहालले समानुपातिक र प्रदेशतर्फको मत गन्दा पनि प्रत्यक्षको मतपत्र भेटिएको हुँदा अन्तिम घोषणा गर्न बाँकी रहेको जानकारी दिए।

झुक्किएर परेका केही मतगणना बाँकी रहे पनि झलनाथले हार्ने निश्चित भइसकेको छ।

यसपटकको उनको चुनावी असफलता भने यसअघिभन्दा फरक छ। २०५६ मा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएका खनाल यसपटक इलाम १ बाट आफ्नै पूर्वपार्टी एमालेका महेश बस्नेतसँग पराजित हुन पुगेका छन्।

एमालेबाट विभाजित बनेर बनेको नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता खनाललाई सत्ता गठबन्धनका कांग्रेस, माओवादीलगायत दलहरूले समर्थन गरेका थिए। तर, आफ्नै पूर्वपार्टी र कार्यकर्तासँगको चुनावी भीडन्तमा खनाललाई अन्य दलको साथले सफलता दिलाउन सकेन।

इलाम नगरपालिका ७ का बस्नेत कुनै बेला नेता खनालका कार्यकर्ता थिए। एमालेमा गुटबन्दी चुलिँदै जाँदा खनालले अलग गुटको नेतृत्व गर्दा इलाममा बस्नेत भने अहिलेका अध्यक्ष केपी ओली गुटमा थिए।

२०५४ र २०७४ को निर्वाचनमा इलाम नगरपालिकाको मेयरमा निर्वाचित बस्नेत यसपटक आफ्नै पूर्व नेतासँग चुनावी प्रतिष्पर्धामा थिए। अन्ततः उनकै शब्दमा ‘आफ्नै पूर्व अग्रज’ लाई पछि पार्दै बस्नेतले संसद् यात्रा निश्चित गरेका छन्।

चुनाव जितेपछि पनि खनालप्रतिको उनको असन्तोष नघटेको बस्नेतको अभिव्यक्तिले प्रष्ट हुन्थ्यो।

‘उहाँ बाटो बिराएर अन्यत्रै गएपछि उहाँलाई मैले अब पूर्व अग्रज भन्नुपर्छ,’ फरक दलका मानिसप्रति वामपन्थीहरू कठोर हुन्छन् भन्ने मान्यता सम्झाउने गरी बस्नेतले  भने, ‘मैले मेरा पूर्व अग्रजलाई हराएँ। यसमा धेरै खुसी हुनुपर्ने र दुःखी भएर भावुक हुनुपर्ने दुबै कारण छैन।’

झलनाथ र महेश बस्नेतबीचको चिनजान २०३०/३१ सालदेखिकै हो। बस्नेतसहितका इलामका धेरैलाई वाम आन्दोलनमा होमिन तयार पार्ने काम खनाल स्वयंले गरेका थिए। यो कुरा बस्नेत आफैं स्वीकार्छन्।

‘हामीलाई वाम आन्दोलनमा होमिने बनाउने उहाँ नै हो,’ बस्नेतले जितपछि भने ‘तर उहाँले पार्टी छाडेर बाटो बिराउनुभयो।’

खनाल र बस्नेतबीचको चुनावी प्रतिष्पर्धा इलाममा हार्दिक हुन भने सकेन। एउटै क्षेत्रमा लामो चुनावी अभियान चल्दा पनि दुई उम्मेदवारबीच भेट त भएन नै, फोन कुराकानीसमेत भएको थिएन।

‘उहाँले मलाई भोट दिनु हुन्थेन, मैले उहाँलाई दिन्थिनँ अनि किन फोन गरेर र भेटेर समय खेर फाल्नु?,’ भर्खरै घोषित परिणामबाट विजेता बनेका बस्नेतले भने, ‘त्यसैले भेटघाट केही भएन। अब बिस्तारै गर्नुपर्ला।’

शिक्षण पेशा छाडेर इलामबाट राजनीतिक यात्रा थालेर पार्टी र सरकार दुबैको प्रमुख भइसकेका खनालका लागि यसपटकको मुख्य प्रतिकूलता भनेको अन्य दलहरूमाथि निर्भर हुनुपर्ने अवस्था थियो।

यसपटक उनीसँग मतदाता अभ्यस्त भइसकेको चुनाव चिन्ह सूर्य साथमा थिएन। गएको स्थानीय चुनावपछि कार्यपालिका चुनावमा खनालकै जोडबलमा एकीकृत समाजवादीले इलाममा एमालेसँग सहकार्य गरेर जिसस र कार्यपालिका चुनाव लडेपछि कांग्रेस पंक्तिसमेत असन्तुष्ट थियो। यसबाहेक यो क्षेत्रबाट निरन्तर चुनाव जितेर प्रधानमन्त्रीसमेत भइसकेका खनालप्रति ‘क्षेत्रका लागि केही नगरेको’ सदाबहार गुनासो पनि उत्तिकै थियो।

२०७४ मा वाम गठबन्धन हुँदा ३६ हजार ८०५ मत ल्याएर इलाम १ बाट जितेका खनालको त्यो ह्याट्रिक जित थियो। २०४८ र २०५१ मा चुनाव जितेका खनाल २०५६ मा कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएका थिए। २०६४, २०७० र २०७४ को चुनावमा  लगातार जितेका खनाल यसपटक त्यही सफलता दोहोर्‍याउन विफल भएका छन्।

नेता खनाल पछिल्लो समयमा ‘भावी राष्ट्रपति’ का रूपमा पनि चर्चामा रहेका व्यक्ति हुन्। तर, चुनावअघि उनले यसबारे कहीँ कतै सल्लाह नभएको बताएका थिए।

साताकाे चर्चित
सम्बन्धित