नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन सोमबार के-के हुँदैछ?
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन सोमबार के-के हुँदैछ?
    • Bell Sanchar

    • १२ मंसिर २०७९, सोमबार

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) चौथो दिन सोमबारदेखि प्यानल छलफल कार्यक्रम सुरु भएको छ।

योसँगै नेपालका दुई नाटक मञ्चन र कार्यशाला पनि हुनेछ।

‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च: विविधताको उत्सव’ को रुपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रंगमञ्चको दु:ख’ र ‘दर्शक कि नाटक’ विषयमा प्यानल छलफल हुँदैछ।

साँझ ७:३० बजे हुने कार्यक्रममा रंगकर्मीहरू पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गर्नेछन्।

दुई नेपाली नाटक
सोमबारै केही महिनाअघि मञ्चन भएका नेपाली नाटक ‘खुवालुङ: ढुंगाको बाटो’ मञ्चन हुँदैछ। साहित्यकार राजन मुकारुङ लिखित तथा किरण चामलिङ निर्देशित यस नाटक मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुनेछ।

‘खुवालुङ’ जसले किराँती सभ्यताको इतिहासको रुपमा सदियौंदेखि सप्तकोशीको बीचमा उभिएको ढुंगाको कथा बताउँछ। नाटकले सो ढुंगाको मिथ बताउँदै गर्दा सिंगो किराँती जनताको भावनालाई नबुझी यसलाई फुटाउने धम्की दिने सरकारको आलोचना गर्दछ।

त्यस्तै साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ। जसलाई केदारनाथ पौडेलले लेखन तथा निर्देशन गरेका हुन्।

रंगमन्चमा हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरू आउन थाल्नेछन्।

विशेष कार्यशाला
सोमबार २ बजेदेखि एक विशेष कार्यशाला पनि हुँदैछ। ‘अपाङ्गता भएका दर्शकका लागि रंगमञ्च कसरी पहुँचयोग्य बनाउने’ भन्ने विषयमा कार्यशाला हुन लागेको हो।

त्यस्तै ‘कार्डबोर्ड र रंगमञ्च’को विषयमा अर्को कार्यशाला पनि हुँदैछ।

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू मञ्चन हुनेछ।

साताकाे चर्चित
सम्बन्धित