सिके राउतको जनमत पार्टी राष्ट्रिय दल बन्ने दिशातर्फ अग्रसर
सिके राउतको जनमत पार्टी राष्ट्रिय दल बन्ने दिशातर्फ अग्रसर
    • Bell Sanchar

    • १२ मंसिर २०७९, सोमबार

पहिलो पटक संसदीय निर्वाचन सामना गरेको सिके राउत नेतृत्वको जनमत पार्टी पनि राष्ट्रिय दल बन्ने दिशातर्फ अग्रसर भएको छ।

समानुपातिकतर्फ ९३ लाख ३० हजार ३८० मत गणना हुँदा जनमत पार्टीले २ लाख ६६ हजार ११५ मत अर्थात् सदर मतको २.८५ प्रतिशत पाएको छ।

सप्तरी २ मा प्रत्यक्षतर्फ जनमत पार्टीका अध्यक्ष सिके राउतले जित हात पारेका छन्। मधेसका अरू जिल्लामा पनि उसको  बलियो मत देखिएको छ।

मधेसका ५ निर्वाचन क्षेत्रमा अझै मतगणना जारी रहेकाले राउत नेतृत्वको पार्टीले त्यहाँबाट तीन प्रतिशतको थ्रेस होल्ड पार गर्न चाहिने मत ल्याउने बलियो सम्भावना छ।

निर्वाचन आयोगका अनुसार मंसिर ४ को निर्वाचनमा १ करोड ७९ लाख मतदाता थिए। आयोगको तथ्यांकअनुसार यसपालि ६१ प्रतिशत मतदान भएको छ। अर्थात् १ करोड ९ लाखको हाराहारीमा मत खसेको छ। यसरी हेर्दा अब झन्डै १६ लाख मत गन्न बाँकी छ।

समानुपातिकमा थ्रेसहोल्डको मापन सदर मतमा गरिन्छ। अहिलेसम्म कति मत बदर भएको छ भन्ने एकिन तथ्यांक सार्वजनिक भएको छैन।

मोटामोटी हिसाब गर्दा समानुपातिकमा कुनै दलले थ्रेस होल्ड कटाउन ३ लाख १५ हजारको हाराहारीमा मत पाउनु ल्याउनु पर्ने हुन्छ।

यसको अर्थ समानुपातिकमा थ्रेस होल्ड कटाउन जनमत पार्टीले अब गन्न बाँकी १६ लाख मतमध्ये ५० हजारको हाराहारीमा मत ल्याउनु पर्ने देखिन्छ। प्रभाव क्षेत्रमा एउटै निर्वाचन क्षेत्रबाट १७ हजारसम्म मत पाएको जनमतले बाँकी रहेका क्षेत्रमा पनि उल्लेख्य मत ल्याउन सके राष्ट्रिय दल बन्ने सम्भावना रहन्छ।

अब सप्तरीका निर्वाचन क्षेत्र ३ र ४  सिराहा २, महोत्तरी २, ३ मा समानुपातिकको मतगणना भइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित