पूर्वी नवलपरासीका अधिकांश सिसी क्यामेरा बिग्रिए
पूर्वी नवलपरासीका अधिकांश सिसी क्यामेरा बिग्रिए
    • बेल संचार

    • ९ पुष २०७९, शनिबार

कावासोती, 
सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् । प्रहरीको मातहत रहने गरी जडान गरिएका क्यामेरामध्ये ६८ वटाले काम गर्न छोडेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार नारायणगढ बुटवल सडक विस्तार र निर्माण, समय समयमा आउने हावाहुरी, पानी, चट्याङका कारण जिल्लाका विभिन्न स्थानका क्यामेरा बिग्रिएका हुन् ।

कावासोती नगरपालिकामा जडान भएका ३३ मध्ये १६, देवचुलीका १०, मध्यविन्दु नगरपालिकाका ११ मध्ये चार, विनयी त्रिवेणीका १२ मध्ये नौ र गैँडाकोट नगरपालिकाका ४९ मध्ये २९ सिसी क्यामेरा बिग्रिएर काम नगर्ने भएका हुन् । गण्डक ब्यारेजको चारवटै सिसी क्यामेरा बिगँ्रदा सीमानाकामा समस्या भएको छ । गँैडाकोटदेखि दाउन्नेसम्म करिब ६५ मुख्य सडकखण्ड पर्ने भएकाले सवारी दुर्घटना, लागुऔषधसहितका आपराधिक गतिविधि नियन्त्रण गर्न सिसी क्यामेरा प्रभावकारी भएपनि पछिल्लो समय क्यामराले काम नगर्दा केही असहज भएको बताइएको छ । बिग्रिएका सिसी क्यामेरा मर्मत प्रहरी एक्लैले गर्न नसक्ने भएकाले विशेष गरेर स्थानीय तहसँग समन्वय गरिएको छ ।

पूर्वपश्चिम राजमार्ग विस्तारको काम सकिएपछि सडक सुरक्षाको लागी सिसी क्यामेरा झनै महत्वपूर्ण हुने भएकाले थप सिसी क्यामेराका लागि सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनसँग आवश्यक समन्वय गरिरहेको र निर्माण कम्पनी सकारात्मक रहेको तिवारीले बताउनुभयो । कालीगण्डकी डाइभर्सनको काम पनि अन्तिम चरणमा पुगेकाले योसहित पहाडी क्षेत्रका सडकका मुख्य नाकामा सिसी क्यामेरा जडानको योजनामा आफूहरु रहेको उहाँको भनाइ थियो ।

साताकाे चर्चित
सम्बन्धित