वीरगञ्ज,
पर्साको जिराभवानी गाउँपालिकामा सुविधासम्पन्न स्वास्थ्य प्रयोगशाला स्थापना हुने भएको छ । जिराभवानी–२ को सेढंवामा रहेको स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापनाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले रु ६० लाख बराबरको प्रयोगशालासम्बन्धी स्वास्थ्य सामग्री र उपकरण उपलब्ध गराउन लागेको हो ।
जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले गाउँपालिकामा सुविधासम्पन्न प्रयोगशाला स्थापनाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आवश्यक सामग्री र उपकरण उपलब्ध गराउन लागेको जानकारी दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्राण मेहताका अनुसार प्रयोगशालासँग सम्बन्धित प्राविधिक तथा प्रशसनिक विषय प्रदेश प्रयोगशालासँग समन्वय गरी सञ्चालन गर्नुपर्ने छ । सेवाग्राहीलाई बस्ने, खानेपानी र आराम गर्ने राम्रो व्यवस्था स्थानीय तहले गर्नुपर्नेछ । ‘ल्याब रिपोर्ट’को राम्रो व्यवस्था गर्नुपर्ने छ ।
प्रयोगशालामा आवश्यक कर्मचारी केमिकल अन्य प्राविधिक उपकरणको व्यवस्था चालु आर्थिक वर्षका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ । प्रयोगशाला व्यवस्थानका लागि आगामी वर्षका लागि प्रदेश सरकारबाट बजेट प्राप्त हुने जनाइएको छ ।
बारामा गाँजाखेती नष्ट गर्ने अभियान
बारामा प्रहरीले पुनः गाँजाखेती नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ । निर्वाचनका कारण केही महिना रोकिएको सो अभियान सुरु गरिएको छ । यसैक्रममा सोमबार निजगढमा प्रहरीले गाँजाखेती फडानी गरेको छ । निजगढ नगरपालिका–१२ र १३ मा पर्ने कुलियामा लगाइएको गाँजाखेती प्रहरीले फडानी गरी नष्ट गरेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कुलियामा १७ कठ्ठा जग्गामा लगाइएको गाँजा फडानी गरेर नष्ट गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । गाँजाखेती गर्नेको व्यक्तिको भने खोजी भइरहेको उहाँले बताउनुभयो ।