गृहमन्त्री रवि लामिछानेले ,उद्योगी र व्यवसायीलाई रातो कार्पेटले स्वागत गर्छौं
गृहमन्त्री रवि लामिछानेले ,उद्योगी र व्यवसायीलाई रातो कार्पेटले स्वागत गर्छौं

उनले उद्योगी व्यवसायीहरूले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजस्व वृद्धिमा ध्यान दिन आग्रह गरे ।

    • Bell Sanchar

    • २० पुष २०७९, बुधबार

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग बुधबार छलफल गर्दै गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन्।

उनले उद्योग व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिबद्धतासमेत जनाए। गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरू साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेसमेत बताए । उनले उद्योगी व्यवसायीहरूले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजस्व वृद्धिमा ध्यान दिन आग्रह गरे ।

उनले उद्योगी व्यवसायीहरूले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरूलाई भेटेर समय खेर फाल्नु नपर्ने बताउँदै सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह सुझाव दिन व्यवसायीहरूलाई आग्रह गरे । गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरूले पैसा कमाउनुलाई अपराध गर्नुजस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्ने दाबी गरे । उनले उद्योगी व्यवसायीहरूले सही ढङ्गले स्वच्छ प्रतिस्पर्धा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नति हुने बताए ।

उनले उद्योग व्यवसाय बढ्दै जाँदा मुलुकभित्र रोजगारीको सिर्जना हुने बताए । उनले कानुनभन्दा बाहिर रहेर काम गर्नेहरूको संख्या ठूलो रहेको भन्दै फोहोर सफा गर्न समय लाग्ने बताए । उनले फोहोरको चाङ सफा गर्दा बढी दुर्गन्ध आउन सक्ने भन्दै त्यसका लागि उद्योगी व्यवसायीहरूले दुर्गन्ध सहन तयार हुनुपर्ने बताए । गृहमन्त्री लामिछानेले आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनु पर्ने कारण नभएको उल्लेख गर्दै कानुनीको परिधिभित्र रहेर काम गर्ने बताए ।

‘मुलुकको अर्थतन्त्रमा परेको प्रभाव कालोबजारीको कारण परेको भनेर अर्थमन्त्रीज्यूले ठूलो रकम देखाउनुभएको छ । यो आफैंमा मेरा लागि चुनौतीको विषय छ र हाम्रो कार्य कुशलतामा निर्भर हुने भएको हुनाले कालोबजारी चोरीपैठारी प्राथमिकतामा पर्छन् । निर्धक्क हुनूस् । हिजोको जस्तो अवस्था रहँदैन‚’ उनले भने‚ ‘यसअघि कस्तो निर्णय भयो र कस्तो आँखाले हेरियो थाहा छैन तर हाम्रो तर्फबाट तपाईंहरूलाई रेड कार्पेट छ । उद्योग, व्यवसायको सुरक्षा र उन्नतिका लागि गृह मन्त्रालयले गर्ने कुनै पनि काममा चुक्दैनौं ।’

उनले उद्योगी व्यवसायीहरूले पैसा कमाउनु अपराध गर्नुजस्तो भएको भन्दै त्यसलाई आफ्नो सरकारले अन्त्य गर्ने बताए । ‘उद्योगी तथा व्यवसायीहरूले पैसा कमाउनुपर्छ‚ कमाउनुस् । स्वच्छ प्रतिस्पर्धा गरेर व्यवसायीहरूको उन्नति हुँदा नै मुलुकको उन्नति हुने हो । त्यहाँबाट नै रोजगारीको सिर्जना हुन्छ‚’ उनले भने‚ ‘अहिले ठूलो फोहोर रहेको छ । त्यो ड्यामेज भएर बसेको छ । त्यो फोहोर सफा गर्न समय लाग्न सक्छ । सफा गर्दा अलि दुर्गन्ध बढी आउन सक्छ । त्यसका लागि उद्योगी व्यवसायीहरू तयार हुनुहोला । अरु मलाई कसैलाई जोगाउनु पनि छैन । कसैलाई फसाउनु पनि छैन । म कानुनीको परिधिभित्र रहेर काम गर्ने हो । हामी आउँदैमा समाज रातारात परिर्वतन हुने होइन ।’

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयका लागि चुनौतीको विषय भएको बताए । उनले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने बताए ।

साताकाे चर्चित
सम्बन्धित