कृषियोग्य जमिनको संरक्षण आवश्यक : अध्यक्ष तिमिल्सिना   
कृषियोग्य जमिनको संरक्षण आवश्यक : अध्यक्ष तिमिल्सिना   

उहाँले भन्नुभयो, “कृषियोग्य जमिन खुम्चिदैछ, जग्गा खण्डीकरण गरी प्लटिङ बढ्दो छ ।

    • Bell Sanchar

    • २१ पुष २०७९, बिहीबार

काठमाडौँ, 
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहले कृषि उत्पादनयोग्य जमिनको संरक्षण गर्न नसकेको बताउनुभएको छ । आज यहाँ आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको १५औँ वार्षिक साधारणसभामा उहाँले जग्गाको खण्डीकरण र बस्ती विस्तार रोकिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषियोग्य जमिन खुम्चिदैछ, जग्गा खण्डीकरण गरी प्लटिङ बढ्दो छ ।” उहाँले कृषियोग्य जमिन अभाव भइरहेको भन्दै सहकारी संस्थाले सामूहिक कृषिखेतीमा जोड दिनुपर्ने बताउनुभयो । सहकारीमार्फत् प्रत्येक जिल्लामा एउटा सामूहिक कृषिजन्य सामग्री उत्पादन कार्यक्रम सुरु गर्न उहाँले आग्रह गर्नुभयो । सामूहिक खेतीमार्फत् कृषि उद्यमशिलता बढाउन सके व्यापार घाटा कम गराउन सकिने उहाँको भनाइछ ।

नेपालमा मात्रै उत्पादन हुने उपज र वस्तुको पेटेन्ट दर्ता हुनुपर्ने उहाँले बताउनुभयो । कृषि उत्पादनलाई निर्यातमुखी बनाउन अर्ग्यानिक उत्पादन, विज्ञ जनशक्तिको सहभागिता र प्रविधिको प्रयोग बढाउनुपर्ने उहाँकाे भनाइ छ । उहाँले किसानमुखी कानून निर्माण हुनुपर्नेमा जोड दिनुभयाे ।

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले किसानले मल र बिउ समयमा नपाउने, सिँचाइको अभाव र कृषि प्राविधिक जस्ता समस्या किसानले भोगिरहेको गुनासो गर्नुभयो । उहाँले कृषि तालिम तथा अनुसन्धान केन्द्रको निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित