‘टाइम कार्ड’ लागू ,काठमाडौं जिल्ला प्रशासन कार्यालयमा
‘टाइम कार्ड’ लागू ,काठमाडौं जिल्ला प्रशासन कार्यालयमा

प्रशासनले सुरूआती चरणमा चार सेवामा टाइम कार्ड लागू गरेको हो। 

    • Bell Sanchar

    • २१ पुष २०७९, बिहीबार

काठमाडौं जिल्ला प्रशासन कार्यालयले चार वटा सेवामा टाइम कार्ड लागू गरेको छ।

सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने समस्यालाई समाधानको लागि प्रशासन कार्यालयले बिहीबारदेखि टाइम कार्ड लागू गरेको हो।

प्रशासन कार्यालयले अहिले परीक्षणको रूपमा यो सेवा सुरू गरेको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन्।

यसरी लागू गरेसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि प्रशासन कार्यालयको निरीक्षण गरेका छन्।

प्रशासनले सुरूआती चरणमा चार सेवामा टाइम कार्ड लागू गरेको हो।

संस्था नविकरण, नयाँ नागरिकता वितरण, नाबालिग परिचयपत्र र मुद्दाको पेशी र तारिख दिनेमा टाइम कार्ड लागू गरेको हो।

प्रशासन कार्यालयले सेवाग्राहीलाई यी सेवा दिन निश्चित समय दिन्छ। त्यो समयभित्रमा प्रशासन कार्यालयले सेवा दिइसक्ने गरी यो परीक्षण सुरू गरेको सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन्।

यद्यपि जाने बित्तिकै सेवाग्राहीलाई टाइम कार्ड दिने भने होइन।

‘सुरूमा खरिददार, सुब्बा लगायत कर्मचारीले हेर्छन्। सेवाग्राहीले सेवा लिन आउँदा कागजातहरू पूरा भएका छन्/छैनन्।

सेवा दिनको लागि उपयुक्त छ वा छैन, त्यो सबै हेरिसकेपछि मात्रै टाइम कार्ड दिइन्छ,’ खत्रीले भनिन्, ‘यदि कुनै कागजात अपुग भएमा, मापदण्ड पूरा नगरिएको भएमा टाइम कार्ड पाइन्न।’

यसरी सेवाग्राहीले आवश्यक कागजातहरू पूरा भइसकेपछि मात्रै यो टाइम कार्ड पाउने हो। राजस्व तिर्नुपर्ने लगायतका कामहरू भने आफैंले गर्नुपर्ने उनले बताइन्।

संस्था नविकरण र मुद्दाको पेशी तारेखको लागि आधा घण्टाको समय दिइएको छ। यस्तै नागरिकता प्रमाणपत्र र नाबालिग परिचयपत्रको लागि एक-एक घण्टाको समय दिइएको छ।

 

साताकाे चर्चित
सम्बन्धित