कर्णालीमा भाषा र साहित्यको अपेक्षाकृत विकास हुन सकेन   
    • शुरबहादुर सिंह   

    • २३ पुष २०७९, शनिबार

कर्णाली, २३ पुस

भनिन्छ, इतिहास जित्नेकै लेखिन्छ । विसं १८४६ मा बहादुर शाह नेतृत्वको गोर्खाली फौजले जुम्ला सिञ्जा राज्यमाथि आक्रमण पश्चात् यहाँको बास्तविक इतिहास लामो समय आउन सकेन । विसं २०२८ मा करिब छ महिना जुम्ला बसेका शताब्दी पुरुष स्व सत्यमोहन जोशीको अध्ययनपछि उहाँले लेखेको कृति ‘कर्णालीको लोक संस्कृति’ले केही खोतलेको पाउन सकिन्छ ।

सिञ्जा राज्य गोर्खालीको अधिनमा गएपश्चात् नेपाल एकीकरणको फेहरिस्त इतिहासबाहेक यहाँको साँस्कृतिक, पुरातात्विक तथा ऐतिहासिक विवरण पाउन सकिदैन । इस्वीको बाह्रौँ शताब्दीदेखि नागराजले राज्य सुरु गरे । बाह्रौँ शताब्दीदेखि चौधौँ शताब्दीसम्म सिञ्जाबाटै नेपाली भाषा, साहित्य र कलाको उत्पत्ति भएको इतिहासमा पाउन सकिन्छ । उतिबेला भने खस राजा नागराजपछि चाप, चापिल्ल हुँदै पृथ्वी मल्लसहितले २२६ वर्ष राज्य गरेको विकिपिडियामा उल्लेख भएको पाइन्छ ।

तत्कालीन भाषा, साहित्य र कलाको उर्बर भूमिका रुपमा परिचित कर्णालीमा भने आज साहित्यिक गतिविधि अपेक्षित भएको पाइँदैन । विसं २०७७ मा डा जीवेन्द्रदेव गिरी नेतृत्वको टोलीले सुर्खेतमा ‘कर्णाली वाङ्मय साहित्यिक सङगोष्ठी’को आयोजना गरी यहाँको साहित्य र सृजनाको उत्थानमा सहयोग पु¥याएको देखिन्छ । कर्णालीको भाषा संरक्षणमा भाषा आयोगले सिञ्जा गाउँपालिकासँग समन्वय र सहकार्य गर्दै आएको छ ।

खस आर्यको थलो खसान राज्यका रुपमा चिनिने कर्णालीमा नेपाली भाषाको संरक्षण, श्रीवृद्धि, प्रवद्र्धन र सम्वद्र्धन जति हुनुपथ्र्यो त्यति हुन नसकेको कर्णाली साहित्य समाज सुर्खेतका अध्यक्ष खगेन्द्र अधिकारी बताउनुहुन्छ । कर्णालीमा जन्मेर राष्ट्रियस्तरमा चिनिएका साहित्यकारले पनि कर्णालीको नाम भजाएर खाने काम गरेको उहाँको आरोप छ ।

“प्रदेश सरकार तथा स्थानीय तहले साहित्यका क्षेत्रमा शून्य लगानी छ । नीतिगत तहमा भएकाले बाटो, भवन, पार्कलाई मात्र विकास देखे तर बौद्धिक विकास देखेनन्”, अध्यक्ष अधिकारीले भन्नुभयो, “रचनात्मक तथा सिर्जनात्मक काम कारवाहीमा लगानी हुन सकेको छैन । सिञ्जा र दैलेखको दुल्लुमा भाषा तथा साहित्यको राष्ट्रिय सम्मेलन गर्न खोजियो तर हाम्रा आवाज सुनिएनन् ।”

भाषा र साहित्यको विकासले संस्कृति र सभ्यताको संरक्षण हुन्छ भन्ने विषयलाई उठाएर कर्णालीमा प्रज्ञा–प्रतिष्ठान बनाउन अनुरोध गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले लेखन प्रक्रिया संस्थागत पहल हुन नसकेको बताउनुभयो । नवप्रतिभाको विकास गर्न, लेखन क्षेत्रमा काम गरिरहेका व्यक्तिलाई ऊर्जा दिन कृति पुरस्कार, प्रतिभा पुरस्कार, कर्णाली साहित्य साधना सम्मान पुरस्कार दिँदै आएको उहाँको भनाइ थियो ।

अध्यक्ष अधिकारीले यहाँको भाषा, साहित्य र कलाका माध्यमबाट कर्णाली तथा सिङ्गो नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिने दाबी गर्नुभयो । प्रदेश सरकार तथा स्थानीय तहले यसको विकास तथा प्रवद्र्धनमा जोड दिनसके पर्यटनका गतिविधि बढ्ने र त्यसले कर्णालीको अर्थतन्त्रमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

महिला साहित्यकार (कवयत्री) देवकी तिमिल्सिनाले कर्णालीमा पुरुषको सापेक्षतामा महिला स्रष्टा निकै कम भएको बताउनुभयो । महिला शैक्षिक, सामाजिक र आर्थिक हिसाबले कमजोर हुनु र महिला स्रष्टाले पारिवारिक वातावरणबाट पनि प्रेरणा नपाएको उहाँको भनाइ छ ।

प्रतिभा हुँदासमेत धर्मिक सामाजिक संस्कारसँग जोडिएका कारणले पनि स्रष्टाका हिसाबले महिला बाहिर आउन नसकेको उहाको भनाइ छ । उहाँले नयाँ पुस्तालाई पथप्रदर्शन नभएको, साहित्यको केन्द्रीयकरण हुन नसकेको तथापि नयाँ पुस्ता जुर्मुराएको बताउनुभयो । मातृसत्ताको जगमा भए पनि व्यावहारिकमा पुरुषसत्ता नै हाबी भएको र सोच, रुपान्तरण तथा सामूहिकताको मनन गर्न नसकिएको उहाँले प्रतिक्रिया दिनुभयो ।

कर्णालीमा नवपुस्तामा जागरण ल्याउने खालका साहित्यिक सम्मेलन हुन सकेका छैनन् । “यहाँको भाषा साहित्यको विकास गर्ने हो भने पढ्न जरुरी छ । यहाँको जीवन पढ्न आवश्यक छ”, “मिथक बनाएर जाने हो भने प्रत्येकको घरमा इतिहास छ । कथा छ । हामी जिन्दगी बोकेर जिन्दगी खोज्न थालेनौँ । भौतिक विकास मात्र विकास भन्न थाल्यौँ ।”

यहाँका साहित्य अनुरागीले कर्णालीमा जिउँदा मान्छे थोरै हुँदा त्यसको सुनुवाइ कम भएको बताउँदै आएका छन् । मानसिक, सामाजिक र बौद्धिक भन्दा विकास भनेकै पुल धारा बाटो मात्रै हो भन्ने बुझाइ नराखी त्यसलाई फराकिलो दृष्टिबाट हेर्न सक्नुपर्ने उनीहरुको सुझाव छ ।

तत्कालीन मध्यपश्चिम गजल प्रतिष्ठानका अध्यक्ष एवं गजलकार गणेश आचार्य (भूर्तेलबाबु) साहित्यको अपेक्षित प्रस्फुटन हुन नसकेको बताउनुभयो । “साहित्यिक स्रष्टाको क्रियाशीलता नबढ्दा स्रष्टाको पनि कमी भएको छ”, आचार्यले भन्नुभयो, “कर्णाली र मुलतः जुम्लाको साहित्यिक उचाइमाथि भए पनि सिर्जना, रचना र लेखन क्षेत्रको वातावरण मिलेको छैन ।” भाषा, साहित्य, कला र संस्कृति संरक्षणका लागि स्थानीय सरकारले पनि आवश्यक कार्यक्रम ल्याउनुपर्ने उहाँले सुझाउनुभएको छ ।

कर्णालीका संस्कृतिसम्बन्धी तथा भाषासेवी रमानन्द आचार्य भन्नुहुन्छ, “भाषा, साहित्य, सभ्यता र कलाको उद्गमस्थल कर्णाली भए पनि त्यसको अपेक्षाकृत विकास हुन सकेको छैन । भाषा र साहित्य हाम्रो संस्कृति, सान र सम्पत्ति हो । तर यसको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनमा कसैले ध्यान दिएको पाइदैन । अझ यस क्षेत्रमा यहाँको महिला आकर्षण निकै कम भएको पाइन्छ ।”

एक दशकभन्दा बढी समयदेखि खस शब्दकोष निर्माणमा लागिरहँदा त्यसमा पनि अपेक्षित सहयोग नपाएको उहाँले दुखेसो पोख्नुभयो । यद्यपि उक्त शब्दकोष प्रकासोन्मुख अवस्थामा रहेको उहाँले बताउनुभयो । भाषा, साहित्य र कलाले सम्बन्धित क्षेत्रको संस्कृति र सभ्यताको पहिचान दिने भएकाले यसको विकासमा सबै सरकारसहित सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्ने उहाँको सुझाव छ । रासस

Nabintech
साताकाे चर्चित
सम्बन्धित