अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा  
अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा  
    • Bell Sanchar

    • २३ पुष २०७९, शनिबार

   मध्यविन्दु, २३ पुस 

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाभित्रका अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । “गाउँपालिकाले सबै नागरिकको सहज स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेको हुँदा स्वास्थ्य बीमा गर्न नसक्ने अपाङ्ग र विपन्नको गाउँपालिकाले नै बीमा गर्ने छ”, उहाँले भन्नुभयो, “कार्यविधिअनुसार गरिब तथा विपन्न परिवार पहिचान गरी स्वास्थ्य बीमामा समावेश गरिने छ ।”

निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले बताउनुभयो । सो कार्यक्रमका लागि गाउँपालिकाले चालू आर्थिक वर्षदेखि बजेटको व्यवस्था गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित