भिल्लारियलसँग रियल म्याड्रिड स्तब्ध, शीर्ष स्थानमा उक्लने मौका गुमायो
भिल्लारियलसँग रियल म्याड्रिड स्तब्ध, शीर्ष स्थानमा उक्लने मौका गुमायो

यो हारपछि रियलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

    • Bell Sanchar

    • २४ पुष २०७९, आईतवार

स्पेनिस ला लिगामा भिल्लारियलसँग रियल म्याड्रिड स्तब्ध भएको छ। गएराति भिल्लारियलमा भएको खेलमा रियल घरेलु टोली भिल्लारियलसँग २–१ गोल अन्तरले पराजित हुँदै शीर्ष स्थानमा उक्लने मौका गुमायो।

भिल्लारियलको जितमा यारेमी पिनो र जेरार्ड मोरेनोले गोल गर्दा रियलका लागि करिम बेन्जेमाले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि तीनै गोल दोस्रो हाफमा सम्मव भएको थियो।

खेलको ४७ औं मिनेटमा भिल्लारियलले अग्रता लियो। यारेमी पिनोले गोल गर्दै भिल्लारियललाई सुरूआती अग्रता दिलाए।

खेलको ५६ औं मिनेटमा भिनिसियसको प्रहार जुआन फोएथको हातमा लागेको भन्दै रियलले पेनाल्टीको अपिल गर्दा रियलले भिएआरबाट पेनाल्टीको अवसर पाएको थियो । त्यसमा बेन्जेमाले ६०औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

तर, रियलको त्यो बराबरी लामो समय टिकेन। ६३ औं मिनेटमा मोरेनाले पेनाल्टीमा गोल गर्दै भिल्लारियललाई २–१ को अग्रता दिलाए। डेभिड अलबाले बल क्लियर गर्ने क्रममा लडेको अवस्थामा हातमा लागेर बलको दिशा अवरुद्ध बनेपछि रेफ्रीले हयान्ड बल मान्दै भिल्लारियललाई पेनाल्टी दिने निर्णय गरेका थिए। जसमा मोरेनो चुकेनन् ।

भिल्लारियल २–१ ले विजयी हुँदा रियलले सिजनको दोस्रो हार भोगेको छ। रियल यसअघि रायो भालेकानोसँग ३–२ ले पराजित भएको थियो ।

यो हारपछि रियलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। यसको सोझो फाइदा बार्सिलोनालाई पुगेको छ। भिल्लारियलसँग रियल पराजित हुँदा बार्सिलोना शीर्ष स्थानमा यथावत रहेको छ।

यो हारपछि रियल १६ खेलपछि ३८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ। एक खेल कम खेलेको बार्सिलोना समान ३८ अंकका साथ शीर्ष स्थानमा छ। रियललाई पराजित गरेको भिल्लारियल भने १६ खेलपछि २७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ।

साताकाे चर्चित
सम्बन्धित