अल–नासरको डेब्यु खेलमै रोनाल्डोमाथि प्रतिबन्ध
अल–नासरको डेब्यु खेलमै रोनाल्डोमाथि प्रतिबन्ध

रोनाल्डोलाई एफएले अनुचित र हिंसात्मक आचरणमा दोषी ठहर गर्दै दुई खेलमा निलम्बन गर्ने निर्णय गरेको थियो।

    • Bell Sanchar

    • २४ पुष २०७९, आईतवार

एजेन्सी

काठमाडौं

, कीर्तिमानी रकममा साउदी अरेबियाको क्लबमा भित्रिएका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्न अझै केही समय कुर्नुपर्ने भएको छ।

गएको अप्रिलमा एभर्टनसँग म्यानचेस्टर युनाइटेड १–० ले पराजित भएको खेलमा अनुशासनहिन गतिविधि गरेको भन्दै पोर्चुगिज स्टारलाई इङ्लिस फुटबल एशोसिएसनले २ खेलको प्रतिबन्ध लगाइएको थियो।

रोनाल्डोलाई एफएले अनुचित र हिंसात्मक आचरणमा दोषी ठहर गर्दै दुई खेलमा निलम्बन गर्ने निर्णय गरेको थियो।

उनलाई प्रतिबन्धसँगै ५० हजार पाउन्ड जरिवाना गरिएको थियो, युनाइटेडसँगको सम्झौता खारेज भइसके पछि पनि रोनाल्डोले नयाँ क्लबमा पनि उक्त प्रतिबन्ध लागू हुनेछ।

रोनाल्डोले अब साउदी प्रो लिगमा दुई खेलको प्रतिबन्ध भोग्नुपर्नेछ र अल–ताई र अल–शबाबविरुद्धको अर्को दुई खेलबाट बाहिर बस्नुपर्नेछ।

यो सँगै रोनाल्डोले एसियाली क्लबबाट पहिलो व्यवसायिक खेल खेल्न सम्भवत आगामी जनवरी २१ सम्म पर्खनुपर्ने भएको छ।

साउदीले अरबौं खर्चेर किन भित्र्यायो रोनाल्डो?

फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा मोरक्कोसँग १–० गोलले पराजित भएपछि पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले आँखा भरी आँसु लिएर मैदान छाडेको एक महिना भएको छ।

पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी अरब राष्ट्र बनेको थियो।

विश्वकप जित्ने सपना चकनाचुर भएको केही हप्तापछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड छोडेर साउदी अरेबियाको अल–नासरमा आबद्ध भए।

अल नासर र रोनाल्डोबीचको सम्झौता अहिलेसम्मकै सबैभन्दा महँगो सम्झौता भएको बताइएको छ। अल-नासरले रोनाल्डोलाई सन् २०२५ सम्म हरेक वर्ष २८ अर्ब ८० करोड रुपैयाँ तिर्नेछ।

मंगलबार रोनाल्डो औपचारिक रूपमा आफ्नो नयाँ क्लबमा सामेल हुँदा उनले युरोपमा धेरै कीर्तिमान बनाएको र अब साउदी अरबमा केही कीर्तिमान बनाउन चाहेको बताए।

विश्वकपको पछिल्ला दुई खेलमा उनलाई सुरुमै मैदानबाहिर बस्न बाध्य पारिएको थियो। रोनाल्डोले यो सिजन म्यानचेस्टर युनाइटेडका लागि १६ खेलमा तीन गोल मात्र गरेका थिए, जसमध्ये एउटा पेनाल्टी पनि थियो।

यसका बाबजुद पनि रोनाल्डो अल–नासरमा सामेल भएकोमा मध्यपूर्वका देशहरूमा ठूलो उत्साह देखिएको छ।

अल-नासर क्लबले पनि रोनाल्डोसँगै टोलीको जर्सीसहितको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेर यो उत्साह देखाएको छ।

तर, केही विज्ञहरूले ३७ वर्षीय रोनाल्डोसँग अल-नासरको महँगो सम्झौतालाई साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानको सुधारवादी नीतिसँग पनि जोडिरहेका छन्, जसको लक्ष्य पश्चिमी देशहरूलाई पछाडि छोडेर साउदी अरबलाई विश्वव्यापी शक्तिको रूपमा स्थापित गर्ने हो।

साउदी अरबमा फुटबलको क्रेज बढ्दै
फिफा विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गर्दै आश्चर्यजनक नतिजा निकालेको थियो।

खेलको दिन साउदीका मन्त्रालयहरू, सरकारी निकायहरू, विद्यालयहरू र विश्वविद्यालयहरू समेत समय अगावै बन्द गरिएको थियो ताकि मानिसहरूले रोमाञ्चक खेल हेर्न सकून्।

साउदी अरबको विजयपछि राजा सलमानले भोलिपल्ट राष्ट्रिय बिदाको घोषणा गरेका थिए।

साउदीको विजयले देशको लागि मात्र नभई सम्पूर्ण अरब क्षेत्रको लागि उत्साह भरिएको थियो। सामाजिक सञ्जालमा अन्य अरब देशका मानिसहरूले पनि साउदीको जितलाई आफ्नो जितका रूपमा हेरेका थिए।

यो जित संयोग थिएन। साउदी अरेबियाका खेलकुद मन्त्री राजकुमार अब्दुलाजिज बिन तुर्की अल फैसलले आफ्नो टोलीले तीन वर्षदेखि यस्तै जितका लागि तयारी गरिरहेको बताएका थिए। यसरी खेलकुद मन्त्रालयले फुटबलको प्रवर्द्धन गर्दा यसको दिशा र लक्ष्यको प्रष्ट संकेत हुन्छ।

खेलकुद साउदीको ‘भिजन २०३०’ को महत्वपूर्ण पक्ष हो।

युवराज मोहम्मद बिन सलमान कतार विश्वकपमा फिफा अध्यक्ष इन्फान्टिनोसँग धेरै पटक देखिएका थिए। सन् २०१६ मा  मोहम्मद बिन सलमानको ‘भिजन २०३०’ अन्तर्गत खेलकुदलाई प्राथमिकतामा राखिएको थियो।

त्यसयता साउदी अरेबियाको खेलकुद जगतमा ठूलो परिवर्तन देखिएको छ।

भिजन २०३० ले सन् २०३० सम्ममा खेलकुदमा सार्वजनिक सहभागिता ४० प्रतिशतले बढाउने, साउदी खेलाडीहरूको प्रदर्शनमा सुधार गर्ने र खेलकुदको अर्थतन्त्रलाई बढावा दिने तीनवटा लक्ष्य राखेको छ।

फुटबल पत्रकार उरी लेवीले मोहम्मद बिन सलमानको भिडियो ट्वीट गरेका छन्। उनले रोनाल्डोको साउदी अरब पुग्नु ठूलो परिवर्तनको संकेत भएको लेख्दै भिडियोमा साउदी युवराजले मध्यपूर्व अब नयाँ युरोप बन्ने बताएका छन्।

‘आगामी पाँच वर्षमा साउदी अरेबिया पूर्णतया फरक हुनेछ। बहराइन पूर्ण रूपमा फरक हुनेछ। कुवेत, कतार पनि। मतभेदको बाबजुद पनि तिनीहरूसँग बलियो अर्थव्यवस्था छ’ भिडियोमा युवराजलाई उद्धृत गरिएको गर्दै भनिएको छ, ‘पाँच वर्षमा पूरै फरक हुनेछ। युएई, ओमान, लेबनान, जोर्डन, इजिप्ट, इराक र यहाँका अवसरहरू। यदि हामी आगामी पाँच वर्षमा सफल भयौं भने धेरै देशले हाम्रो पाइला पछ्याउनेछन्। आगामी ३० वर्षमा मध्यपूर्वमा नयाँ विश्वव्यापी पुनर्जागरण हुनेछ। यो साउदीको लडाइ हो। यो मेरो लडाइँ हो र म यस लडाइमा मर्न चाहन्न जबसम्म म मध्यपूर्वलाई विश्वको नेतृत्व गरिरहेको देख्दिन।’

रोनाल्डोबाट साउदी अरेबियालाई कस्तो फाइदा हुन्छ?
क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेपछि अल-नासरले ट्वीट गरेको छ, ‘इतिहास बनेको छ। यो सम्झौताले हाम्रो क्लबलाई मात्रै नभई हाम्रो लिग, हाम्रो देश र भावी पुस्ता, केटाकेटीलाई पनि प्रोत्साहन दिनेछ।’

सम्झौताको घोषणा गर्दै रोनाल्डोले भनेका छन्, ‘म फरक देशमा नयाँ फुटबल लिगको अनुभव गर्न पाउँदा उत्साहित छु।

यो सम्झौताले रोनाल्डोलाई इतिहासमा सबैभन्दा धेरै कमाउने फुटबलर बनाएको छ, तर साउदी अरेबियाले पनि उनको स्टारडमबाट फाइदा लिन सक्छ।

मिडल इस्ट इकोनोमी वेबसाइटले लेखेको छ कि रोनाल्डोले २०३० फिफा विश्वकप आयोजना गर्ने साउदी अरेबियाको योजनालाई बलियो बनाउन सक्छन्। विशेषगरी रोनाल्डोको आगमनसँगै अहिले मिडियाको पूर्ण ध्यान साउदी फुटबलमा केन्द्रित भएको छ।

वेबसाइटले साउदी पर्यटन मन्त्री अहमद अल-खतिबलाई उद्धृत गर्दै भनेको छ कि साउदी अरबले इजिप्ट र ग्रिससँग मिलेर सन् २०३० को फिफा विश्वकपको संयुक्त आयोजनाको प्रस्ताव गर्न सक्छ।

अहमद अल-खतिबले एक अन्तर्वार्तामा भनेका छन्, ‘हामी इजिप्ट र ग्रीससँग मिलेर प्रस्ताव बनाउने सोचिरहेका छौं र आशा छ कि हामी सफल हुनेछौं। तीनवटै देशले पूर्वाधारमा ठूलो लगानी गर्नेछन् र पूर्ण रूपमा तयार हुनेछन्।’

साउदी अरेबियाले यसअघि नै फर्मुला वान दौड र एसियाली विन्टर खेलकुद २०२९ लगायत अन्य अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरू आयोजनामा अग्रसरता देखाइसकेको छ।

अल-नासरको इतिहास
रोनाल्डो आवद्ध रहेको अल-नासर क्लब सन् १९५५ मा साउदी अरेबियाको राजधानी रियादमा स्थापना भएको थियो। यो क्लबले देशको प्रोफेशनल लिग (एसपीएल) खेल्छ, जहाँ कुल १८ टोली छन्।

लिगका सर्वाधिक गोलकर्ता माजिद अब्दुल्लाहले पनि अल-नासरका लागि खेल्दा प्रत्येक खेलमा एकको औसतमा कुल १८९ गोल गरेका छन्। अल-नासर एसपीएलको दोस्रो सबैभन्दा सफल टोली हो, जसले अहिलेसम्म ९ पटक उपाधि जितेको छ। पछिल्लो पटक अल–नासरले सन् २०१८–१९ मा  उपाधि जितेको थियो। सबैभन्दा धेरै उपाधि जित्नेमा अल-हिलाल क्लब अल-नासरभन्दा अगाडि छ।

अल-नासरका वर्तमान प्रशिक्षक रुडी गार्सिया हुन्।

गोल डट कमको समाचारअनुसार  साउदी राजकुमार अब्दुल रहमान बिन साउद अल साउदले सन् १९६० मा क्लबको कमान्ड लिए। उनले अल-नासरलाई देशको उत्कृष्ट क्लब बनाउनमा महत्वपूर्ण भूमिका खेलेका थिए।

यो विश्वास गरिन्छ कि २००४ मा उनको मृत्यु पछि पनि क्लबले साउदी शाही परिवारबाट आर्थिक सहयोग पाइराख्यो र क्लबले ठूला खेलाडीहरूलाई आकर्षित गर्न सफल भयो।

क्रिस्टियानो रोनाल्डोले सन् २०२५ सम्म अल–नासरसँग सम्झौता गरेका छन्। यसका लागि अल-नासर क्लबले रोनाल्डोलाई वार्षिक १७७ मिलियन पाउण्ड तिर्नेछ।

गत वर्ष नै अर्को साउदी टोली अल हिलालले पनि रोनाल्डोलाई अफर गरेको थियो। तर त्यतिबेला रोनाल्डोले उक्त प्रस्ताव अस्वीकार गर्दै आफू म्यानचेस्टर युनाइटेडसँग खुसी रहेको बताएका थिए।

साताकाे चर्चित
सम्बन्धित