संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको अधिवेशन सोमवार शुरू हुँदै
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको अधिवेशन सोमवार शुरू हुँदै

यस्तै पूर्व सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

    • Bell Sanchar

    • २४ पुष २०७९, आईतवार

;

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावपछि बनेको संसद्को पहिलो बैठक सोमवार दिउँसो १ बजे बस्न लागेको हो । पहिलो दिनको बैठकमा राजनीतिक दलका नेतालाई अधिवेशन आरम्भको मन्तव्य राख्न दिने तयारी छ ।

प्रतिनिधिसभाको ठूलो दलको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो सम्बोधन गर्न पाउने छन् ।

त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रमशः बोल्ने गरी संसद् सचिवालयले तयारी गरेको छ । स्वतन्त्र सांसद समेतले पहिलो दिनको बैठकमा बोल्न पाउने छन् ।

प्रतिनिधि सभाको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अध्यक्षता गर्ने बैठकले प्रतिनिधिसभा अन्तरिम नियमावलीलाई स्वीकृत गर्ने कार्यसूची छ ।

नयाँ नियमावली नबन्दासम्म यसअघिकै नियमावलीका आधारमा कार्यसञ्चालन गर्ने गरी दलहरूबीच सहमति भएको छ ।

पहिलो दिनको बैठकमै सभामुख (ज्येष्ठ सदस्य)को अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने ७ जनाको नाम अनुमोदन गरिने कार्यसूची छ ।

यसैगरी २६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन चाहेको जानकारी गराइने छ ।

यस्तै पूर्व सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । नवनिर्वाचित सांसदहरूले पुस ७ गते पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

बैठकमा सीट व्यवस्थापन 

संसद् सचिवालयले प्रतिनिधिसभा बैठकमा दलहरूका लागि बस्ने सीटको व्यवस्थापन गरेको छ ।

तत्कालका लागि नेपाली कांग्रेस, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षी बेञ्चमा बस्नेछन् ।

राप्रपा, जसपा र सरकारमा सहभागी दलहरू सत्तापक्षको ‘रो’मा बस्ने छन् । एमाले, माओवादी केन्द्र, रास्वपा र जनमत पार्टी सरकारमा सहभागी छन् ।

एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेता संसद बैठकको अघिल्लो पंक्तिमा बस्न पाउने छन् ।

बैठकको मध्यभागमा रहेको सरकार पक्षको रोसँगै सत्तापक्षमा एमाले र प्रतिपक्षी रोमा नेपाली कांग्रेस रहने छन् ।

सत्तारुढ माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी एउटा रोमा मिलेर बस्ने गरी सचिवालयले सीट व्यवस्थापन गरेको छ ।

सरकारलाई समर्थन गरेका राप्रपा, जसपा र जनमत पार्टीले एउटा रो पाएका छन् । राप्रपाका दुईजना सांसद अघिल्लो बेञ्चमा बस्न पाउने छन् ।

जनमतका सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता चौधरी पनि पहिलो पंक्तिमा बस्नेछन् । राउतको कुर्सी सत्ता पक्ष र रञ्जिताको कुर्सी प्रतिपक्षतर्फ छ ।

बायाँतर्फको अन्तिम लहर नेकपा एस, नागरिक उन्मुक्ति, लोसपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका लागि छुट्ट्याइएको छ ।

साताकाे चर्चित
सम्बन्धित