वन्यजन्तु बस्ती पसेपछि
    • Bell Sanchar

    • २५ पुष २०७९, सोमबार

    महोत्तरी, २५ पुस 

वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ ।

नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा वन्यजन्तु लघार्न रातरातभरि खेत कुर्नु परेको यहाँका किसानको पिरोलो छ । बाँदर र दुम्सी जिल्लाका वन क्षेत्रसँग जोडिएका बर्दिबास र गौशाला नगरपालिकाका बस्तीबाट तलतिर (दक्षिण) नझरे पनि नीलगाई, बँदेल र हरिण हुल मै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट सरदर ४० किलोमिटर दूरी छिचोल्दै भारतसँगको सीमा क्षेत्रका बस्तीसम्म पुगेका छन् ।

“हाम्रो बस्तीमा बाँदर र दुम्सी त देखिएका छैनन्, तर घोडगदाहा (नीलगाईलाई यहाँका स्थानीयले भन्ने नाउँ) र बँदेलले भने दुःख दिएर आजित बनाएका छन्”, वन क्षेत्रबाट २० किलोमिटर दूरीको भङ्गाहा–४ पलार बस्तीका किसान सत्यनारायण चौधरी भन्नुहुन्छ, “चिसो स्याँठमा रातरातभरि यिनलाई लघार्न खेत कुर्नुपर्छ ।” नीलगाई र बँदेलले आजित बनाएको बताउने उहाँ हरिण र हात्ती भने कहिलेकाहीँमात्र देखिने गरेको बताउनुहुन्छ । “हरिण पनि समूहमै आउँछन्, तर पातलो, हात्तीचैँ दुईचार वर्षमा देखिन्छन्”, स्थानीय महेश सर्दारले भन्नुभयो ।

अहिले हिउँदे तरकारी र केराका बोट बँदेल र नीलगाईले नोक्सान गर्ने गरेका आम किसानको गुनासो छ । नीलगाईले बासस्थान नै नबनाए पनि ५०÷६० को सङ्ख्याको हुलमा खेतबारीमा पस्ने गरेका भङ्गाहा–६ हतिसर्वाका जयराम यादव बताउनुहुन्छ । “घोडगदाहाको हुल पस्यो कि दुई÷चार कट्ठाको कोवी एकैछिनमा दलमदान गर्छन्”, उहाँ भन्नुहुन्छ, “यिनले गरी खान दिएनन् ।” नीलगाई हकार्दा भागे पनि बँदेलले भने झम्टने पनि गर्ने हुँदा डरमर्दो भएको यादवको भनाइ छ । नीलगाईले जिल्लाको तल्लो भेगमा लामो बसाई भने बनाउँदैनन् तर बँदेल भने यतैतिर घारी, झाडीमा बस्नै लागेका पाइएको किसान बताउँछन् । बर्दिबास–७ र भङ्गाहा–४ मा पर्ने प्रेमनगर बस्ती त नीलगाई र बँदेलको अड्डाजस्तै बनेको सो बस्तीका किसान रामप्रगाश महतो बताउनुहुन्छ ।

नीलगाई र बँदेलका समूह जिल्लाको सुदूरदक्षिणी मटिहानी, जलेश्वर, मनराशिशवा, एकडारा, सम्सी र सोनमासहितका स्थानीयतहका बस्तीबस्तीमा छ्यापछ्याप्ती देखिने गर्छन् । झाडीयुक्त बगैँचा, निर्जन खोला किनारका काँशघारी र उखु घारी यिनको बसाई हुनेगर्छ । दिनभरि झाडीमा लुकेर बस्ने नीलगाई र बँदेलले मध्यरातपछि बालीनाली नोक्सान गर्ने गरेको जलेश्वर नगरपालिका–४ को भारतीय सीमावर्ती बस्ती मुसरपट्टीका सुरेश पाण्डे बताउनुहुन्छ । नीलगाई जिल्लाको भारतीय सीमावर्ती सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका बस्तीमा पनि बाक्लै देखिएका छन् । नीलगाईचैँ मानिसबाट छलिने र बस्तीभन्दा टाढाको उखुघारी र अन्य झाडीमा बस्ने गरे पनि बँदेलले भने बस्तीभित्रै पसेर घर करेसाका केराका थामसमेत लडाउने गरेको सम्सी गाउँका इम्तियाज अहमद बताउनुहुन्छ ।

नीलगाई मानिसको दचकले भाग्ने गरे पनि बँदेलचैँ झम्टन आउने गरेपछि खेतबारी डुल्न पनि डरमर्दो भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेष मन्सुरले बताउनुभयो । बँदेलले प्रत्येक रातजसो फूलकोवी, बन्दाकोवी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गरेको किसानको भनाइ छ । राति बाली सखाप पार्ने र दिउँसो उखुघारी पस्ने बँदेलका डरले खेतबारी डुल्न, घाँसपातको काममा निस्कन डरलाग्ने गरेको रामगोपालपुर नगरपालिका–८ थलही बस्तीका रामविलास मण्डल बताउनुहुन्छ ।

जिल्लाको बर्दिबास नगरपालिकाका दक्षिणतर्फका बस्ती मनहरीपुर, पशुपतिनगर, प्रेमनगर, बिजलपुरा र हाथीलेट एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, रामनगर, पलार, भूचक्रपुर, राजपुर र धतियाटोलतिर त पछिल्ला चार÷पाँच वर्षदेखि बँदेल अड्डै जमाएर बस्ने गरेका पशुपतिनगरका किसान महेन्द्र महतोको भनाइ छ । बँदेलले त कैयन छिमल बच्चा पनि यतै हुकाइसकेका रामनगर बस्तीका किसान नारायण दाहाल बताउनुहुन्छ । दुम्सी पनि आफ्ना बस्तीमा छ्यासछ्यास्ती देखिने गरेका दाहालको भनाइ छ । नीलगाई र बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल नझरेका सर्वसाधारण बताउँछन् । उत्तरी क्षेत्रका बर्दिबास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनिँया र खयरमारासहितका बस्तीमा भने घरघरै बाँदर पसेर थाङ्रामा राखेको मकैसमेत उधिन्ने गरेको गृहिणीहरुको भनाइ छ ।

वन क्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेका बताउँछन् । सर्वसाधारण किसान भने वन्यजन्तुबाट लगातारको क्षतिले आजित भएर वन, स्थानीयतह र सुरक्षासम्बद्ध निकाय गुहार्न थालेका छन् ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित