प्रदेश १ मा को-को बन्दैछन् मन्त्री, माओवादी केन्द्रमा अन्योल
प्रदेश १ मा को-को बन्दैछन् मन्त्री, माओवादी केन्द्रमा अन्योल

प्रदेश प्रमुखको कार्यालयका अनुसार आज दिउँसो २ बजे  शपथ ग्रहण गर्नेछन् । 

    • Bell Sanchar

    • २५ पुष २०७९, सोमबार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार आज दिउँसो २ बजे  शपथ ग्रहण गर्नेछन् ।  सपथग्रहण लगतै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी छ । एमालेबाट २,माओवादी केन्द्र र राप्रपाबाट १–१ जना मन्त्री बनाउने उनको तयारी छ ।

नेकपा एमालेले बुद्धिकुमार राजभण्डारी र तिलकुमार मेन्याङ्बोलाई मन्त्री बनाउने सम्भावना छ । पूर्व संघीय सांसद मेन्याङ्बो संसदीय दलको नेताको आकाक्षी थिए । तर कार्कीले उनलाई मन्त्री बनाउने आश्वासन दिएपछि दाबीबाट पछि हटेका थिए । राजभण्डारी २०७४ सालमा निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी यसअघि एमाले प्रदेश १ को प्रमुख सचेतक थिए ।

मुख्यमन्त्रीको सचिवालयले पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीको सङ्ख्या र नामको विषय नटुङ्गिएको बताएको छ । माओवादी केन्द्रले तत्काल सरकारमा सहभागिता नजनाउने बताएपछि एमालेबाट नियुक्त हुने मन्त्रीको विषयमा पनि अन्योल रहेको सचिवालयले जनाएको छ । राप्रपाबाट संसदीय दलका नेता भक्ति सिटौला  मन्त्री बन्ने सम्भावना छ ।

नेकपा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ मन्त्री बनाउने तयारी थियो । तर केन्द्रको निर्णयप्रति असहमति जनाउँदै संसदीय दलले तत्काल सरकारमा सहभागी नहुने बताएपछि आज शपथ ग्रहण गर्ने कि नगर्ने भन्ने अन्योल छ ।

नेकपा माओवादी केन्द्र संसदीय  दलका नेता इन्द्रबहादुर आङ्बो प्रदेश  १ को नेतृत्व आलोपालो गर्ने सहमति गरेपछि मात्रै सरकारमा सहभागी हुने बताए ।

आइतबार बेलुका बसेको शीर्ष नेताको बैठकले प्रदेश  भागवण्डा गर्दा  प्रदेश १ को मुख्यमन्त्री पाँच वर्षका लागि नै एमालेलाई  दिने सहमति गरेको थियो । सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले मुख्यमन्त्री आधा–आधा कार्यकाल हुनुपर्ने शर्त राखेको छ ।

सरकारमा सहभागिताका विषयमा छलफल गर्न माओवादी केन्द्रले आज दिउँसो संसदीय दलमा छलफल गर्दैछ । माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार आज दिउँसोको बैठकपछि सरकारमा सहभागि हुने नहुने विषयमा  निर्णय हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित