कांग्रेस र एकीकृत समाजवादीसँग पनि विश्वासको मत मागिएको छ ,प्रधानमन्त्री प्रचण्ड
कांग्रेस र एकीकृत समाजवादीसँग पनि विश्वासको मत मागिएको छ ,प्रधानमन्त्री प्रचण्ड

‘हाम्रो संसदीय दलका नेता तथा प्रधानमन्त्रीले बैठकलाई सम्बोधन गर्दै सांसदहरूलाई मार्गनिर्देशन गर्नुभयो

    • Bell Sanchar

    • २५ पुष २०७९, सोमबार

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार ७ दलसँगै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलगायत दलहरूसँग पनि विश्वासको मत मागिएको बताएका छन्।

सिंहदरबारस्थित संसदीय दलमा सोमबार बसेको बैठकमा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिने कार्यक्रम भएकोले सबै दलहरूसँग मत मागिएको ब्रिफिङ गरेका हुन्।

बैठकका निर्णय जानकारी गराउँदै प्रमुख सचेतक हितराज पाण्डेले सत्ता साझेदार दलका अलवा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलगायत दलसँग पनि विश्वासको मतका लागि कुराकानी गरिएको जानकारी प्रधानमन्त्रीले बैठकमा राखेका छन्।

‘हाम्रो संसदीय दलका नेता तथा प्रधानमन्त्रीले बैठकलाई सम्बोधन गर्दै सांसदहरूलाई मार्गनिर्देशन गर्नुभयो,’ उनले भने, ‘विश्वासको मतका लागि पार्टीहरू र सांसदहरूसँग पनि एकआपसमा कुराकानी गर्न भन्नुभएको छ।’

प्रधानमन्त्रीले जानकारी गराएअनुसार सबै दलसँग विश्वासको मत माग्ने काम भएको उनले बताए।

‘प्रधानमन्त्रीले जानकारी गराएअनुसार सबै दलसँग कुराकानी भएको छ, कांग्रेस र एकीकृत समाजवादीलगायतसँग पनि,’ उनले भने, ‘विश्वासको मत दिन दलहरूलाई  अपिल गरिएको छ। विषयबस्तु सकारात्मक नै छ।’

प्रधानमन्त्री प्रचण्डले माओवादीका सांसदहरूलाई व्यक्तिगत रूपमा पनि सांसदहरूसँग कुराकानी गरेर विश्वासको मतका लागि पहल गर्न आग्रह गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित