माओवादीका राजकुमार शर्माले आज दाबी पेश गर्ने, कर्णालीको मुख्यमन्त्रीमा
माओवादीका राजकुमार शर्माले आज दाबी पेश गर्ने, कर्णालीको मुख्यमन्त्रीमा

केन्द्रको समीकरणअनुसार आज कर्णाली प्रदेशले नेकपा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार पाउने भएको छ।

    • Bell Sanchar

    • २७ पुष २०७९, बुधबार

कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका संसदीय दल नेता राजकुमार शर्माले दाबी पेश गर्ने भएका छन्।

प्रदेश प्रमुखको कार्यालयले तोकेको समय ५ बजेभित्र माओवादीको तर्फबाट शर्माले दाबी पेश गर्नेछन्।

प्रदेश प्रमुखको कार्यालयले पुस २१ गते संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि २७ गते ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेको थियो।

कर्णाली प्रदेश सभामा सहभागी पाँच दलमध्ये संविधानको धारा (१) बमोजिम एकलौटी सरकार बनाउनेगरी कुनैको पनि बहुमत आएको छैन।

केन्द्रको समीकरणअनुसार आज कर्णाली प्रदेशले नेकपा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार पाउने भएको छ।

मुख्यमन्त्रीका दाबेदारको प्रस्तावक, समर्थक, मन्त्रालय भागबण्डा लगायतका विषयमा सत्ता साझेदार दलहरूबीच छलफल भइरहेको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्।

‘आज अन टाइममै दाबी पेश हुन्छ, मुख्यमन्त्री को बन्ने भन्ने पहिल्यै फिक्स भइसकेको छ,’ उनले भनिन्, ‘आजको प्रस्तावक र समर्थक तथा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा हामी छलफलमै छौं।’

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस सबभन्दा ठूलो दलका रूपमा छ।

४० सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन २१ सदस्य चाहिन्छ। कांग्रेसका १४ जनामात्र सांसद छन्।

यस्तै, नेकपा माओवादी केन्द्रका १३ र एमालेका १० जना सांसद छन्। नेकपा (एकीकृत समाजवादी) र राप्रपाबाट एक/एक जना र स्वतन्त्र एक जना सांसद छन्।

साताकाे चर्चित
सम्बन्धित