पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडकमा कालोपत्रको परीक्षण सुरु
पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडकमा कालोपत्रको परीक्षण सुरु
    • Bell Sanchar

    • ३० पुष २०७९, शनिबार

बुटवल

निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ ।

आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको आयोजनाका इन्जिनियर राकेश झाले जानकारी दिनुभयो । आयोजना सुरु भएको ४७ महिनापछि कालोपत्रको काम सुरु भएको हो । राजमार्गको मुख्य सडकमा पहिलोपटक परीक्षणका रुपमा सो काम सुरु भएको हो । भेँडाबारी खण्डको यो क्षेत्रमा आउँदो दुई साताभित्र एक किलोमिटर पिच गरिने इन्जिनियर झाले बताउनुभयो । उहाँका अनुसार यो सडक १० मिटरभन्दा बढी फराकिलो छ ।

क्रसर उद्योगबाट नियमितरुपमा निर्माण सामग्री उपलब्ध भए आगामी असारसम्म १० किलोमिटर सडक कालोपत्र गरिने झाले बताउनुभयो । राजमार्गमा फिलिङको काम भइरहँदा क्रसर उद्योग बन्द भएका कारण काम अघि बढाउन अप्ठेरो परेको झाले बताउनुभयो । उहाँका अनुसार ग्राभेल हालेर पुर्ने काम सकिए पनि माथिल्लो भाग सम्याउन क्रसरका विभिन्न आकारको गिट्टी आवश्यक पर्छ ।

विसं २०७५ माघमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकार र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको थियो । सो अवधि गत साउनमा सकिएकाले आगामी साउनसम्मका लागि समय थपिएको हो ।

विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको झण्डै छ दशकपछि पूर्व–पश्चिम राजमार्गको सो खण्डको विस्तार भएको हो । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक विस्तार भइरहेको छ । निर्माणको लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ ।

साताकाे चर्चित
सम्बन्धित