सूर्य नमस्कार योगका फाइदा
सूर्य नमस्कार योगका फाइदा
    • Bell Sanchar

    • ३ माघ २०७९, मंगलवार

सूर्यले अध्यात्मिक सचेतनालाई संकेत गर्दछ। जसरी सूर्य निरन्तर र लयवद्ध हुन्छ, त्यसैगरी सूर्यनमस्कार अभ्यासले हामीलाई निरन्तर र लयवद्ध बनाउन सहयोग गर्दछ। योगमा सूर्यले पिंगलानाडी÷सूर्यनाडीलाई संकेत गर्दछ र सूर्यनमस्कारको अभ्यासले यो नाडीलाई जागृत राख्न मद्दत गर्छ जसले गर्दा हाम्रो शरीरमा प्राण उर्जाको प्रवाह हुन्छ।

सूर्यनमस्कारलाई पुर्णव्यायाम पनि भनिन्छ। यो अभ्यासमा १२ वटा आसन समाहित हुन्छ, जसमा अगाडि झुक्ने, पछाडि झुक्ने लगायत पूरक (स्वास लिने), रेचक (स्वास छोड्ने) र कुम्बक (स्वास रोक्ने ) सबै स्वासप्रस्वासको प्रकृयाको अभ्यास गरिन्छ। यो अभ्यासलाई स्वासको गति नियन्त्रण गर्दै मन्त्रोच्चारणका साथ पनि गर्न सकिन्छ। यो अभ्यास एकदमै सजिलो योग अभ्यास हो, जसलाई बच्चादेखि बूढापाकासम्मले गर्न सक्दछन्।

सूर्यनमस्कारका फाइदाहरुः

 

शरीर सुगठित र लचिलो बनाउँछ।

तौल नियन्त्रण गर्न मद्दत गर्दछ।

शरीरमा रक्तसंचार र मेटाबोलिजम बढाउँछ।

पाचन प्रणालीमा सुदृढता ल्याउँछ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

अनुहारमा चमक ल्याउँछ।

शरीरमा सकारात्मक उर्जाको बिकास गराउँछ।

सूर्यनमस्कार गर्ने तरीकाः

सूर्यनमस्कार गर्नुपूर्व हल्का वार्मअप गर्नुपर्छ। त्यसपछि सूर्यनमस्कारका आसनहरु क्रमवद्द तरीकाले गर्नुपर्छ।

 

 

१.प्रणामासनः म्याटको अगिल्लो भागमा सीधा उभिनुहोस्। हातलाई नमस्ते मुद्रामा छातीको अगाडि राख्नुहोस्।

 

२.हस्तउत्तानासनः स्वास लिँदै हात माथि लैजाने, संपूर्ण शरीरलाई तनक्क तन्काउनुहोस्।

 

३.हस्तपादासनः स्वास छोड्दै दुबै हात र ढाड सीधा राखी कम्मरको भागबाट अगाडि झुक्ने, हातलाई पैतालाको दायाँ र बायाँपट्टि राखेर निधारले घुँडालाई छुने प्रयास गर्नुहोस्।

 

४.अश्वसंचलासनः स्वास लिँदै दायाँ खुट्टालाई पछाडि लाने र घुँडा जमीनलाई टेकाउने, बायाँ खुट्टा ९० डिग्रीको कोणमा सीधा राख्नुहोस्। टाउको सीधा वा अलिकति उठाएर माथि हेर्नुहोस्।

 

५.पर्वतासनः स्वास छोड्दै वायाँ खुट्टा पछाडि लानुहोस्। शरीर पर्वतको आकारमा बन्छ। यो स्थितिमा ३ देखि ५ पटकसम्म लामो स्वास फेर्नुहोस्।

 

 

६.अष्टाङ्गनमस्कारः स्वास लिने र स्वास छोड्दै घुँडा, छाती र चिउँडोलाई जमीनमा राख्नुहोस्। नितम्ब हलुका माथि उठेको हुनुपर्दछ।

 

 

७.भुजङ्गासनः स्वास लिँदै टाउको, काँध र छातीलाई उठाउनुहोस् र माथितिर हेर्नुहोस्। कुमलाई शिथिल छोड्नुहोस।

पूनः

८.पर्वतासनः स्वास छोड्दै  शरीर पर्वतको आकारमा उठाउनुहोस्। यो स्थितिमा ३ देखि ५ पटकसम्म लामो स्वास  फेर्नुहोस्।

 

९.अश्वसंचलासनः श्वास लिंदै खुट्टालाई दुबै हत्केलाको बीचमा ल्याउनुहोस। बाँया खुट्टालाई पछाडी जमीनमा राख्नुहोस्। नितम्बलाई जमिनतिर धकेल्नुहोस र माथितिर हेर्नुहास्।

 

१०.हस्तपदासनः श्वास छाड्दै बाँया खूट्टा अगाडितिर लानुहोस। हत्केलाहरुलाइ पैंतालाको दाँयाबाँया जमीनमा राख्नुहोस्। निधारलेु घुडामा छुने प्रयास गर्नुहोस।

 

 

११.हस्तउत्तासनः श्वास लिदै हातहरु काथी राखी सीधा माथि उठ्नुहोस। हातहरु टाउकोभन्दा काथी लानुहोस्। शरीरलाई तल पैतालादेखि माथि टाउकोसम्म तनक्क तन्काउनुहोस्।

 

१२.प्रणामासनः श्वास छाड्दै दुबै हत्केलालाई छाती अगाडी ल्याई नमस्कार मुद्रामा बस्नुहोस। शरीर सीधा राख्नुहोस। हातहरु तल झार्नुहोस ।

 

सूर्यनमस्कारलाई बिशेषतः सूर्योदयको बेलामा गर्दा बढी लाभकारी रहन्छ। तर, सूर्यास्तको समयमा पनि गर्न सकिन्छ। खालि पेट, खुल्ला हावामा धिमागतिसंग यसको अभ्यास गर्नुपर्छ। शुरुवाती दिनहरुमा २ देखि ४ पटक र नियमित अभ्यास गर्दै जाने क्रममा ६ देखि १० पटकसम्म गर्न सक्नुहुन्छ। अभ्यासको  शुरुवाती दिनहरुमा यसलाई दक्ष तथा अनुभवी प्रशिक्षकको निगरानीमा रहेर गर्नुपर्छ।  (इन्सानी ढुंगाना, योग प्रशिक्षक हुन्)

साताकाे चर्चित
सम्बन्धित