आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै ,प्रतिनिधि सभा सभामुखका लागि
आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै ,प्रतिनिधि सभा सभामुखका लागि

सभामुखका आकांक्षीले प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गराउनुपर्नेछ ।

    • Bell Sanchar

    • ३ माघ २०७९, मंगलवार

काठमाडौं ।

आउँदो माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनको लागि संसद सचिवालयले आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । निर्वाचनका लागि आवश्यक तयारी भैरहेको संसद सचिवालयले जनाएको छ ।

गत पुष २६ गते वसेको प्रतिनिधिसभाको बैठकमा जेष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५ गतेका लागि तोक्नुभएको थियो । सोही अनुसार संघीय संसद सचिवालयले सभामुख चयनका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको हो ।

प्रस्तावित कार्यतालिका अनुसार मनोनयन दर्ता अर्थात् प्रस्तावको सुचना भोलि माघ चार गतेका लागि कार्यक्रम राखिएको छ । त्यस्तै सोही दिन नै उम्मेदवारको नामावलीका साथै अन्तिम नामावली पनि प्रकाशन गरिने भएको छ ।

सभामुखका आकांक्षीले प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गराउनुपर्नेछ । माघ ५ गतेको प्रतिनिधि सभा बैठकमा उम्मेदवारको प्रस्तावकले प्रस्ताव राख्ने र समर्थकले समर्थनमा बोल्ने कार्यक्रम हुन्छ ।

सभामुखको निर्वाचन हरेक सदस्यको मत विभाजनबाट हुन्छ । पक्ष, विपक्ष र तटस्थ गरी तीनवटा विकल्प दिएर छुट्टाछुट्टै लबीमा सांसदहरूले दस्तखत गरेर आफ्नो मत राख्छन् । बहुमत प्राप्त निर्वाचित सभामुखले पदभार ग्रहणअगाडि राष्ट्रपतिसमक्ष शपथग्रहण गर्ने ब्यवस्था छ ।

सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधिसभाले उपसभामुखको निर्वाचन मिति तोक्छ । सभाध्यक्षले प्रस्तावित सभामुखको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । यसरी निर्णयार्थ प्रस्तुत गर्दा पहिला दर्ता भएकोलाई पहिला र पछि दर्ता भएकालाई क्रमश प्रस्तुत गरिन्छ ।

पहिलो उम्मेदवारबारे निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएमा दोस्रो उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्न नपर्ने कानुनी व्यवस्था रहेको छ । पहिलो उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा दोस्रो उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ ।

एक जनाको मात्र उम्मेदवारी परेमा निर्विरोध घोषणा हुने व्यवस्था रहेको छ । सभामा कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत उम्मेदवार सभामुख निर्वाचित हुन्छ संवैधानिक ब्यवस्था अनुसार संसद्को पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने छ । २५ पुसमा पहिलो बैठक बसेकाले प्रतिनिधिसभाले ९ माघभित्र सभामुख र उपसभामुख पाइसक्नुपर्छ ।

सभामुखको निर्वाचनको मिति नजिकिदै गर्दा दलहरु सभामुखको उम्मेद्वार तय गर्न आन्तरिक छलफलमा केन्द्रीत बनेका छन् । सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विच छलफल भएको छ ।

सत्ता गठबन्धनबाट सभामुख पद एमालेले पाउने निश्चित जस्तै छ । सो निर्वाचनका लागि कांग्रेसले उम्मेदवार उठाउने वा नठाउनेबारे हालसम्म कुनै निर्णय गरेको छैन ।-

साताकाे चर्चित
सम्बन्धित