लुम्बिनीका नवनियुक्त सभामुख र उपसभामुखले लिए शपथ
लुम्बिनीका नवनियुक्त सभामुख र उपसभामुखले लिए शपथ
    • Bell Sanchar

    • ४ माघ २०७९, बुधबार

बुटवल । लुम्बिनी प्रदेशका नव निर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन् ।

सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खांण निर्विरोध निर्वाचित भएका थिए ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो सभामुख र उपसभामुखलाई शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुखले मुख्यमन्त्री र दुईजना मन्त्रीको शपथ भने दाङमा गराएका थिए ।

सभामुखमा घर्तीको एकल उम्मेदवारी परेको थियो भने उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुले उम्मेदवारी दर्ता गरेका थिए ।

तर उनीहरुले प्रदेश सभा बैठकमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि खांण मतदान प्रक्रियामा नगई निर्वाचित भएकी हुन् ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लिला गिरी, मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसी लगायत सत्तारुढ दलका नेताहरुको सहभागिता रहेको थियो ।

यसअघि माओवादी केन्द्रका प्रमुख सचेतक रहेका घर्ती पाल्पा २ (२) बाट दोस्रोपटक प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । गुल्मीकी खांण भने समानुपातिकबाट निर्वाचित भएकी हुन् ।

साताकाे चर्चित
सम्बन्धित