भारी हिमपात हुम्लामा
    • Bell Sanchar

    • ६ माघ २०७९, शुक्रबार

कर्णालीका हिमाली जिल्लाहरूमा शुक्रबार बिहानबाट भारी हिमपात सुरु भएको छ ।

हिमपात हुँदा केही समय जनजीवन प्रभावित बने पनि किसान हर्षित बनेका छन् ।

हिमाली जिल्ला हुम्ला सदरमुकाम सिमकोटसहित अन्य पालिकामा हिमपात हुँदा स्थानीय बाहिर निस्किन सकेका छैनन् ।

हुम्लाको नाम्खा गाउँपालिकामा एक फिटभन्दा बढी हिउँ परेको छ ।

‘अब हिउँदे बाली राम्रो हुने भयो । जमिनमा हिउँ रह्यो वा पर्‍यो भने माटो मलिलो बनाउँछ, जमिन सुख्खा हुन पाउँदैन,’ स्थानीय कुन्साङ छोर्तेन लामाले भनिन्, ‘अहिले परेको हिउँले चैत, बैशाखमा खेतीपाती गर्न सजिलो हुने भयो ।’

अघिल्ला वर्षहरुभन्दा यो वर्ष केही ढिलो गरी हिमपात भएको कुन्साङले जानकारी दिइन् ।

उनले अघिल्ला वर्षमा मंसिर अन्तिम र पुसमै पर्ने हिउँ यसपालि माघमा पहिलोचोटि परेको हो ।

‘हिउँदमा अत्याधिक जाडो हुने भएकाले बाहिर निस्किन सम्भवै हुँदैन ।

त्यसैले पहिलेदेखि नै हिउँदको तयारी गरेका हुन्छौं । घाँस, दाउरा र मान्छेको खानेकुरा पनि पहिले नै तयारी अवस्थामा राखेका हुन्छौं,’ उनले भनिन्,

‘धेरै दिन हिउँ पर्‍यो भनेमात्रै समस्या हुने हो । भण्डारण गरेको आहारा सकियो भने गाह्रो पर्छ ।’

Nabintech
साताकाे चर्चित
सम्बन्धित