हुलाकी राजमार्गको मेरुदण्ड भनिएको कमला पुलको बिजोग!
    • रोहित महतो

    • ८ माघ २०७९, आईतवार

फुलवा यादव १५ वर्षकै छँदा उनी कमला नदी पौडेर खेत आउजाउ गर्थिन्।

टाउकोमा भारी बोकेर नदी तर्ने क्रममा कहिलेकाहीँ अन्नबाली पानीमै बग्थ्यो। दिनरात मिहिनेत गरेर उब्जाएको अन्नबाली पानीले बगाउँदा धेरैपटक उनी रोएकी छन्।

नदीमा पुल बने पनि हुन्थ्यो भन्ने उनको एउटै कामना हुन्थ्यो यस्तो बेला।

पछि उनी ठूली हुँदै गएपछि नेताहरुका भाषण सुन्न थालिन्। उनीहरूले पनि पुल बनाइदिने आश्वासन धेरैपटक दिए। पुलबानाउँछौँ भनेर नेताहरूले २०५४ सालकै चुनावमा भाषण गरेको याद छ उनलाई । त्यो बेला चुनाव सकिनेवित्तिकै पुल बनिसक्छ भन्ने लागेको थियो उनलाई।

धनुषा—सिरहा जोड्ने कमला पुल यहाँका स्थानीयसँगै आवत जावत गर्ने धेरैलाई एकदमै आवश्यक रहेकाले पनि नेताहरूले छिटो बनाउन पहल गर्छन् भन्नेमा त्यतिखेर उनी ढुक्क भएकी थिइन्।  तर त्यसो भएन।

अहिले यादव ६६ वर्ष पुगिसकिन्। दुख भने  किशोरावस्थाजतिकै झेल्नु परेको छ।

जाडो होस् या गर्मी उनलाई खेतमा काम गर्न नदी तरेर जानुपर्छ।

सिरहा नगरपालिका स्थित बसबिट्टाका यादवको डेढ विघा खेत कमला नदी पारी धनुषातर्फ पर्छ। टाउको घाँसको भारी बोकेर उनी नदी तर्दै गरेका भेटिए।

‘पुल नबन्दा हेर्नुस ज्यानै जोखिममा छ। कुन दिन अचानक ठूलो बाढी आयो भने हामीलाई बगाइदेला ठेगान छैन। यो जुनीमा पुल बनेको हेर्न सकिन्न क्यारे,’ उनले भने, ‘बनेको पुल चढ्न पनि बाँसमाथि चढ्दा कहिलेकाहीँ लडिन्छ। एक दुईजनाको खुट्टै भाँचेको छ।’

हुलाकी राजमार्ग अन्तर्गत पर्ने कमला नदीको पुल अझै पनि तयार नहुँदा स्थानीय आक्रोशित छन्। जति बनेको छ त्यो पनि भासिएको छ।

‘ठेकेदारसँग नेताहरुले कमिसशन असुली गर्छन्। कमशल काम भएपछि पुल भास्नु स्वभाविकै हो। घुस खाएकाले ठेकेदारलाई कारबाही गर्ने नेतामा साहसै छैन,’ कमला नगरपालिकाका जोगी यादवले अक्रोस पोखे, ‘११ वर्षदेखि पुल बनेको छैन। नेताहरुले चुनावको बेला चर्को भाषण गर्ने तर चुनाव सकिए लगतै बिर्सिने बानीले हामी समस्यामा छौँ। जितेका नेता काठमाडौँमा मस्ती गरिरहेका छन् यहाँको दुःख बुझ्दैनन्।’

हुन त हुलाकी सडकको मेरुदण्डको रुपमा रहेको कमला पुलको निर्माण कार्य २०७८ सालमै अन्तिम चरणमा थियो। तर असार महिनामा वर्षासँगै आएको बाढीले सिरहातर्फको एउटा स्पान नै भासियो।

सोही वर्ष कात्तिक महिनामा धनुषा जिल्लातर्फको ३ नम्बर पिलर पनि भासियो। पुल भासिएपछि सर्वसाधारणले सुरुमा तलतलैबाट आउजाउ गर्थे। तर अहिले सिरहातर्फ बाँसको चढ्ने बनाएर बनिसकेकै पुलमाथिबाट साइकल, मोटरसाइकल तथा पैदल यात्रीले आवत जावत गरिरहेका छन्। बन्न बाँकी रहेको ठाउँमा भने नदीमा पानी तरेर आउजाउ गर्नुपर्ने बाध्यता छ। पानीमा भिजेरै सबै मान्छेले नदी पार गर्छन्।

साउन महिनामा बसबिट्टाका मुखलाल दासले बनिसकेको संरचनामा चढेर आउजाउ गर्न बाँस, काठको पुलमाथि चढ्न सक्ने बनाएका छन्।

‘नदी पारी धनुषातर्फका धेरैजसो खेत हाम्रै गाउँलेको रहेछ। यो लचका बनाइदिएपछि नदीको धेरैजसो बाटो पुलबाटै काट्न मिलेको छ,’ दासले भने।

यद्दपी उनले सर्वसाधारणसँग मन लाग्दि पैसा लिने गरेका छन्। एउटा मोटरसाइकल आउजाउ गर्न एक सय रुपैँया लिइरहेको उनले बताए। उनका अनुसार साइकलको २० रुपैँया लिन्छन्।

२०६८ सालदेखि निर्माण सुरु भएको पुल संचालन नहुँदा सिरहा तथा सप्तरीका व्यक्ति तेब्बर बढी दुरी घुमेर मधेश प्रदेशको राजधानी जनकपुर आउनु परेको छ। पुल निर्माणका लागि सुरुमा पप्पु कन्स्ट्रक्सनले २०६८ सालमा ४२ महिनाभित्र सक्ने गरी ठेक्का पाएको थियो ।

तर, उसले सात वर्षसम्म सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरधामले उसँग ठेक्का सम्झौता तोड्यो। १३ असार २०७८ मा निर्माण कार्य सक्नेगरि लुम्बिनी बिल्डर्सले ठेक्का पायो। तर गुणस्तरहीन काम भएपछि सो वर्षको साउन महिनामा उद्धघाटनको तयारी भैरहेको बेला नै पुल भासियो। पुल भासिदा निर्माणमा खटिएका कर्मचारी तथा मजदुरले अझै पैसा पाउन सकेका छैनन्।

प्राविधिकहरुका अनुसार पुलको डिजाइन नै गलत तरिकाले गरिएकाले भासिएको थियो। डिजाइनसँगै गुणस्तरहीन निर्माण समाग्रीको प्रयोगले पुल संचालन नहुँदै टुटेको हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरधामका एक कर्मचारीले बताए।

कार्यालय प्रमुख कृष्ण कुमार महतोले भासिएको संरचना पुनः निर्माणका लागि लुम्बिनी जेभीले पुलको डिजाईन पेश गरेको बताए।

‘पेश भएको योजना सडक विभागबाट स्वीकृत हुन बाँकी छ। छिटै त्यो डिजाइन स्वीकृत भएर यहीँ महिनाको अन्तिमबाट काम सुरु भैसक्नुपर्ने हो,’ उनले भने, ‘जे ड्यामेज छ उसलाई तोडेर डिसमेन्टल गरिसकेको छ। स्वीकृत बिडको ठेक्का रहेकाले सम्झौता भएकै पैसामा उसले पुनः निर्माणको काम गर्छ।’

पाँच वर्षभित्र फेरि पुल भासिए वा केही प्राविधिक समस्या आए ठेकेदार नै जिम्मेवार हुने उनको भनाई छ। सेतोपाटी बाट साभार

Nabintech
साताकाे चर्चित
सम्बन्धित