कांग्रेसले लेख्यो संसद सचिवालयलाई पत्र
    • Bell Sanchar

    • ८ माघ २०७९, आईतवार

नेपाली कांग्रेसले विपक्षी दलको नेताले पाउने सेवा सुविधाबारे जानकारी माग्दै संघीय संसद सचिवालयलाई पत्र लेखेको छ।

कांग्रेस संसदीय दलको तर्फबाट संसदको महासचिवलाई सम्बोधन गर्दै एक साता अघि नै पत्र पठाइएको हो। कांग्रेस संसदीय दलमा कार्यरत उपसचिव होमनाथ पहाडीले महासचिवलाई पत्र पठाएका हुन्।

‘विपक्षी दलको नेताले पाउने सुविधा खुलाइ पठाइदिनु भनेर महासचिवलाई सम्बोधन गर्दै पत्र आएको छ’, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सेतोपाटीसँग भने, ‘सुविधा माग गरिएको भन्दा पनि के-के सुविधा प्राप्त हुन्छ भन्ने जानकारी माग गरिएको छ।’

संसद सचिवालयले नै राजनीतिक दलहरुलाई सिंहदरबार भित्र दलको कार्यालय र कर्मचारी उपलब्ध गराउँदै आएको छ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत पुस २६ मा विश्वासको मत दिएपछि उसलाई सत्तापक्ष मान्ने कि प्रतिपक्ष भन्नेमा अन्यौल छ।

नेपाल मजदुर किसान पार्टीले प्रतिनिधि सभा बैठकमा आफ्नो दलले विपक्षी दलको नेता पाउनुपर्ने माग उठाइसकेको छ।

कतिपय संविधानविद्हरुले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले उसलाई प्रतिपक्षी दल मान्न नहुने तर्क गर्दै आएका छन्।

तर कांग्रेसले आफू संसदमा प्रतिपक्षको भूमिकामा रहने स्‍पष्ट गरिसकेको छ।

संसदमा प्रमुख प्रतिपक्षी दलको नेतालाई कानूनले नै सेवा-सुविधा दिने व्यवस्था गरेको छ।

विपक्षी दलको नेताले पारिश्रमिक, विशेष भत्ता, बैठक भत्ता बाहेक सञ्चार सुविधा, फर्निचर, निजी सचिवालय खर्च, गार्ड घर, सवारी इन्धन, मोविल, बिजुली, धारा, दैनिक भ्रमण भत्ता पाउँछन्।

१० लाखको यात्रा बीमासमेत गरिएको हुन्छ। सांसदहरुले पनि माथिका कतिपय सुविधा पाउने भए पनि विपक्षी दलको नेताले पाउने सुविधाका बीचमा ठूलो अन्तर छ।

प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्। तीमध्ये मनाङबाट जितेका टेकबहादुर गुरूङ निलम्बित छन्।

Nabintech
साताकाे चर्चित
सम्बन्धित