अध्यक्ष लिङ्देन ,राप्रपाले उठाउँदै आएका मुद्दा सम्बोधन हुने छाँट देखेर सरकारमा सहभागी भएका हौं
अध्यक्ष लिङ्देन ,राप्रपाले उठाउँदै आएका मुद्दा सम्बोधन हुने छाँट देखेर सरकारमा सहभागी भएका हौं
    • Bell Sanchar

    • १० माघ २०७९, मंगलवार

 काठमाडौं ।उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उठाउँदै आएका मुद्दाहरू सम्बोधन हुने भएकाले सरकारमा सहभागी भएको बताएका छन्।

सरकारमा नहुँदा राप्रपाले उठाउँदै आएका मुद्दा ओझेलमा परेको र ती मुद्दा तथा जनसरोकारका विषय कार्यान्वयनका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको उनले बताए।

मन्त्री लिङ्देन झापाको अर्जुनधारा-१, साधुटारस्थित श्री शंकराचार्य पीठ वेदवेदांग संस्कृत पाठशालाको नवनिर्मित चार कोठे भवनको उद्घाटनमा पुगेका थिए।

उद्घाटनपछि कार्यक्रममा बोल्दै लिङ्देनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल एजेन्डा हिन्दु राष्ट्र कायम गराउनु हो। त्यसका लागि सरकारमा हाम्रो उपस्थिति अनिवार्य छ। यसैका लागि हामी सरकारमा गएका हौं।’

सरकारमा सहभागी भएपछि राप्रपाले उठाएको हिन्दुत्वको मुद्दा अब बलियो हुने पनि उनले दाबी गरे। सरकारमा नहुँदा सडक र राजनीतिक सभामा मात्र उठ्ने गरेको हिन्दुत्वको विषयले अब सदनबाट मूर्त रूप लिने उनको भनाइ थियो।

‘राप्रपा सरकारमा गएको प्रति कतिपय सर्वसाधारणले असन्तोष जनाउनुभएको हामीले सुनेका छौं,’ उनले भने, ‘सरकारमा जाँदा पार्टीले उठाएका मुद्दा सम्बोधन हुने छाँट देखिएपछि सरकारमा सहभागी भएका हौं।’

भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्न आफू मन्त्री नभएको पनि उनले बताए। मन्त्री हुँदैमा सबै चोर नहुने पनि उनको भनाइ थियो। सकेसम्म यो देश र जनताका लागि राम्रो गर्छु तर मुलुकका लागि अहित हुने सम्झौता कुनै देशी वा विदेशी शक्तिसँग नगर्ने पनि उनले बताए।

‘जस्तो छविमा मन्त्री भएँ, यो साख एक सुता पनि डगमगाउन दिने छैन,’ उनले भने।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाख रूपैयाँमा बनेको दुई तले भवनको सोमबार लिङ्देनले उद्घाटन गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित