वसन्त श्रवणमा के हुन्छ ?
हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार १२औं शताब्दीमा बंगालका कवि जयदेवद्वारा रचित गीत गोविन्द काव्यलाई आजको दिन राष्ट्र प्रमुखलाई सुनाउने गरिएको छ ।
वर्षा र जाडोयाममा पतझडविहीन भएको बोटबिरुवामा पालुवा लाग्ने सुन्दर प्राकृतिक चित्रण जयदेवको रचनामा छ । भगवान् कृष्णले गोपिनीसँग यही प्राकृतिक सौन्दर्यबीच रसरंग गरिएको गाथा मुख्य रूपमा यो काव्यमा छ ।
हनुमानढोका दरबार संग्रहालय संरक्षण विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार वसन्त श्रवणको बेला ब्याचली राग बजाउने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा. बासुदेव कृष्ण शास्त्रीका अनुसार यस दिन वसन्त श्रवण गरेमा सुख, शान्ति, समृद्धि मिल्ने विश्वास गरिन्छ । त्यसैले राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य गन्यमान्य, विद्वत व्यक्तित्वहरु भेला भएर वसन्त श्रवण गर्ने चलन छ ।
उनका अनुसार परापूर्वकालदेखि राजा महाराजाहरुले देश र जनताको अवस्था बुझ्न श्रीपञ्चमीको दिन भेला बोलाउँथे र होलीको दिन खुसियाली मनाउँदै आ–आफ्नो ठाउँमा फर्किन्थे । अहिलेको परम्परा पनि त्यसैको निरन्तरता हो ।
उनका अनुसार श्री भनेको सुरुवात हो । यसै दिनदेखि वसन्त ऋतु प्रारम्भ भएको बताइन्छ । वसन्त ऋतुमा नयाँ पालुवा पलाउने गर्दछ अर्थात् यो जगतले नै नयाँ रुप लिन्छ । यो समय निकै अदभूत र अलौकिक मानिन्छ । वसन्त ऋतुलाई सबैभन्दा महत्वपूर्ण ऋतु भनिएको छ । श्रीकृष्णले पनि म ऋतुहरुमध्ये वसन्त हुँ भनेका छन् ।
त्यसैले श्रीपञ्चमीलाई श्रीदेवी, भूदेवी र वाकदेवीको संगम मानिन्छ । त्यसैले यस दिन कुनै नयाँ काम सुरु गर्ने प्रचलन छ । यस दिनलाई अत्यन्त शुभ मानिने हुनाले विवाह, व्रतवन्ध लगायतका शुभ कार्य गर्न साइत हेर्न नपर्ने विश्वास गरिन्छ ।